नुवाकोट, २ वैशाख । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १३ मा नेकपा एमालेको तर्फबाट नानी काजी खड्काले वडाध्यक्षमा उमेद्वारी दिने भएका छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा खड्काले वडा अध्यक्षमा उमेद्वारी दिने भएका हुन्।
विदुर १३ मा एमालेबाट अध्यक्षमा अन्य नेताहरूको पनि दावी परेको छ ।
दावी प्रस्तुत गर्नेहरु मध्ये खड्का एमालेबाट वडा अध्यक्षमा सबैभन्दा बलिया उमेद्वारको रुपमा चर्चा हुन थालेको छ ।
लामो समयदेखि राजनीतिमा सक्रिय खड्का स्थानीयमाझ लोकप्रिय छन् । २०३९ सालदेखि २०४६ सम्म अनेरास्वबियुको विद्यार्थी राजनीतिमा सक्रिय जिम्मेवरी लिएका थिए ।
वि.सं. २०४६ देखि शिक्षक संगठनमा आबद्ध खड्का २०५० देखि २०५४ सम्म नेकपा एमाले गाउँ कमिटी सचिव भएका थिए ।
२०४३ देखि २०४५ सम्म निजामती कर्मचारी, २०४३ मा कोष तथा लेखा नियन्त्रण कार्यालयमा लेखापाल, र २०४५ मा हेटौंडा खानेपानीमा नायव सुब्बा, २०४६ देखि २०७४ सम्म प्रचार्य भई काम गरेका थिए ।
उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नेकपा एमालेबाट उमेद्वारी दिँदा शिक्षक जिवनबाट राजिनामा दिएका थिए ।
उनी २०७४ को स्थानिय तहको निर्वाचनमा झिनो मतान्तरले वडाध्यक्षमा पराजित भएका थिए ।
आफ्नो उम्मेदवारी विदुर १३ को आमूल परिवर्तनको लागि भएको भन्दै खड्काले आफूले चुनाव जिते वडालाई देशकै नमुना वडा बनाउने दावी गरे ।