भक्तपुर : भक्तपुरको बिस्काः जात्रामा भैलः खः (भैरवनाथको रथ)ले किचेर ७१ वर्षीय बृद्धको मृत्यु भएको छ।
जात्राको अन्तिम दिन आज (सोमवार) रथ तान्ने क्रममा नासमना चोकमा रथले किचेर जात्रा हेर्न बसेका सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जेका ७१ वर्षीय दुर्गामान कसपालको मृत्यु भएको हो।
गःहिटीबाट रथ तानातान गरी बंश गोपालतर्फ लैजाने क्रममा नासमनामा चोकमा पुग्दा रथको पाङ्ग्राले कसपाललाई किचेर घाइते बनाएको थियो।
उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु पाण्डेले बताए।
दिउँसो पौने ४ बजे घाइते भएका कसपाललाई उपचारका क्रममा साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेको प्रनाउ पाण्डेले जानकारी दिए।
जात्रामा अप्रिय घटना भएपनि रथ तान्ने क्रम भने रोकिएको छैन।
बिस्काः जात्राको अन्तिम दिन आज गःहिटीमा रहेको भैरवनाथको रथलाई तानातान गरी माथिल्लो र तल्लो टोलमा लैजाने परम्परा रहेको छ।
दुवै टोलको परिक्रमा पछि टौमढीमा रथ पुर्याएपछि जात्रा सम्पन्न हुन्छ।