• २४ पुष २०८१, बुधबार

पोखरामा गठबन्धनमा खटपट, देउवाले कांग्रेस नेतालाई काठमाडौं बोलाए

पर्वत : पोखरा महानगरपालिकामा चुनावी तालमेलका लागि सत्तारुढ गठबन्धन दलबीच छलफल गर्न पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन्।

सोमबार गठबन्धनको बैठक बसेर स्थानीय तहको भागवण्डाबारे छलफल गरिरहेको वेला नेपाली कांग्रेसका कास्कीका दुई जना सचिवले संयुक्त विज्ञप्ति जारी गरी नेकपा एकीकृत समाजवादीलाई गठबन्धनमा नराखिएको बताएका थिए। कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायत नेता छलफलमै रहेको वेला एकाएक गठबन्धन टुटेको विज्ञप्ति आएपछि गठबन्धनमा त समस्या देखियो नै, कांग्रेसभित्रै पनि गुट उपगुटको सक्रियता देखिएको थियो।

गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गरिरहेको बेलामा पार्टीको बैठकबिना नै एकाएक गठबन्धन टुटेको विज्ञप्ति आएपछि कास्की कांग्रेसमा विवाद बढेको थियो। पोखरा महानगरपालिकाको प्रमुख पद पाउनको लागि नेकपा एस र कांग्रेसबिच रस्साकस्सी चलिरहेको छ। दुवै दलको हठबीच गठबन्धन टुटेको विज्ञप्ति आएको थियो।

यही परिस्थितिमा सभापति  देउवाले कांग्रेस कास्कीका नेताहरूलाई काठमाडौँ बोलाएर गठबन्धन र पार्टीमा देखिएको समस्याबारे कुरा गर्न लागेका हुन्। देउवाले बोलाएपछि नेपाली कांग्रेस गण्डकी प्रदेश समितिका सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र अर्का नेता यज्ञबहादुर थापा सहित महानगरपालिकाका अन्य नेता पनि काठमाडौँ जान लागेका छन्। 

काठमाडौँ जान लागेका नेताहरूले देउवाले बोलाउनुको कारण थाहा नभएको बताएका छन्। देउवाले उनीहरूलाई बिहान ९ बजेको समय दिएका छन्। गठबन्धनमा देखिएको समस्याबारे छलफल गरेर समाधान गर्न देउवाले बोलाएको हुन सक्ने कांग्रेस  बरालले बताए।

सोमबार दिउँसो गठबन्धनको बैठक बसिरहेको समयमा कांग्रेस कास्कीका सचिवद्वय देवेन्द्र रानाभाट र भानुभक्त ढकालले धेरै छलफल र प्रयास गर्दा पनि नेकपा समाजवादीसँग कुरा नमिलेपछि स्थानीय तहको निर्वाचनमा मित्रवत् एवं स्वच्छ रूपमा चुनावी प्रतिस्पर्धा गर्ने बताएका थिए। गठबन्धन बैठक बसिरहेको वेला यो विषय बाहिरिएपछि गठबन्धनमा खटपट सुरु भएको थियो। यसका कारण बैठक नै स्थगित भएको थियो।





प्रतिक्रिया दिनुहोस्