नुवाकोट, ८ वैशाख । नुवाकोटमा सत्तारुढ चार दलीय गठबन्धनले पालिका चुनावको तालमेलको भागबन्डा टुङ्गो लगाउन सकस देखिएको छ ।
गएको चैत १८ गतेदेखि नै सुरु भएको बैठक पछिल्लो समयमा निरन्तर दैनिक रुपमा बस्दै आएपनि अलिहेसम्म ठोस निर्णयमा पुग्न नसक्दा गठबन्धन अन्योल देखिएको हो । यद्यपी, नेकपा एमालेले जितेको स्थान विदुर र बेलकोटगढी नगरपालिका सहित तारकेश्वर गाँउपालिकामा भने सहमति जुटेको दाबी गरिएको छ ।
जिल्लाभरकै सहमति एकै प्याकेजमा गर्न लागिएको कारण अन्तिम निष्कर्ष भने आउन नसकेको बैठकमा सहभागी मध्ये नेपाली काँग्रेसका जिल्ला सचिव श्रीराम श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार विदुर र तारकेश्वरमा काँग्रेसले प्रमुख लिएर माओवादी केन्द्रलाई उपप्रमुख दिने भएको छ । यस्तै, बेलकोटगढीमा माओवादी केन्द्रले प्रमुख लिएर काँग्रेसलाई उपप्रमुख दिने सहमति भएपनि लिखित निर्णय हुन बाँकी रहेको छ ।
वडाहरुमा नेपाली काग्रेस र माओवादी सहित समाजवादी र जनता समाजवादी पाटीलाई समेत दिनुपर्ने भएकाले औपचारिक निर्णय भने अझै हुन बाँकी रहेको छ । जिल्लाको बाँकी पालिकाहरुमा गठबन्धन गर्न भनेर दलहरु तयार भएपनि कुन पालिकाको नेतृत्व कस्ले गर्ने भन्नेमा सहमति जुटाउन कठिन देखिएको हो ।
चारदल सम्मिलित सत्तारुढ गठबन्धन नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र जनता समाजवादी पाटीको बैठक विदुरमा हिजो बिहान ११ बजेदेखि राती ८ बजेसम्म चलेको भएपनि पुनः आज पनि बैठक बस्ने गरेर निष्कर्ष बिहीन भएको जानकारी आज बिहान नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महतले जानकारी दिनुभएको छ ।
यो समाचार टप नेपाल न्युज डटकममा प्रकाशित छ ।