नुवाकोट, १२ वैशाख । नुवाकोटको दुप्चेश्वर गाउँपालिका अध्यक्ष एवं नेपाली कांग्रेसका योविन्द्रसिंह नेकपा (एमाले) प्रवेश गर्नुभएको छ ।
पार्टीले यही वैशाख ३० गतेको हुने स्थानीय तह निर्वाचनमा टिकट नदिएपछि तामाङ एमाले प्रवेश गर्नुभएको हो ।
उहाँसँगै नेपाली कांग्रेस प्रदेश १ (क) सभापति सुशील खड्का , दुप्चेश्वर १ वडा अध्यक्ष सुन बहादुर तामाङ, तरुण दल क्षेत्रीय कोषाध्यक्ष कृष्ण बहादुर स्याङतान लगायतका नेताहरु कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको छ ।
उहाँहरुलाई एमाले उपमहासचिव विष्णु रिमाललगायतले सोमबार काठमाडौंमा पार्टी प्रवेश गराएका एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुखले जानकारी दिनुभयो ।
योविन्द्रसिंह गत निर्वाचनमा कांग्रेसबाट दुप्चेश्वर गाउँपालिकामा विजयी बन्नुभएको थियो ।
पार्टीमा असन्तुष्टि बढेपछि यसअघि पनि कांग्रेस नुवाकोटका पूर्वउपसभापति यमबहादुर थापा एमाले प्रवेश गर्नुभएको थियो ।
उहाँले एमालेबाट पञ्चकन्या गाउँपालिका अध्यक्ष पदका लागि टिकट पाउनुभएको छ । अध्यक्ष तामाङले पनि दुप्चेश्वरमा एमालेबाट चुनाव लड्ने तयारी गर्नुभएको उहाँ निकट स्रोतले जनाएको छ ।