काठमाडौं, १८ बैशाख । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको प्रमुख (आईजीपी) मा नियुक्त गरेको छ ।
मन्त्रीपरिषद्को आज बसेको बैठकले नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूरे (सिआईबी)का प्रमुख रहेका एआईजी सिंहलाई आईजीपी बनाउने निर्णय गरेको हाे ।
प्रहरी संगठनभित्र कमाण्डिङ क्षमतामा अब्बल र निष्कलंक छवी बनाउन सफल एआईजी सिंह २०४९ चैत ११ मा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए । जिल्ला, प्रदेश र सिआईबी प्रमुख हुँदा ठूला घटनाहरुको सफल अनुसन्धान गरेका एआईजी सिंह सेवा प्रवेशको ३०औं वर्षमा प्रहरी प्रमुख बन्न सफल भएका हुन् ।
हालका आईजीपी शैलेश थापा क्षेत्रीसहितका उनका ब्याचका प्रहरी अधिकृतहरुले ३० वर्षे सेवा अवधिका कारण आजैबाट अवकाश पाउँदैछन् । त्यसैले सिंहले आईजीपीको फुली आजै लगाउने र आजैबाट प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।
को हुन् सिंह ?
दैलेखको विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।
उनी हालका आईजीपी शैलेश थापासहितको टोलीसँगै निरीक्षकका लागि प्रतिष्पर्धा गरेका थिए । तर वैकल्पिक सूचीमा परे र २०४९ चैतमा नियुक्ति लिए ।
३० वर्षे सेवा अवधि कायमै रहे उनले अब एक वर्ष प्रहरी संगठन चलाउनेछन् । सिंहले प्रहरी नायब महानिरीक्षक (डीआईजी) छँदा मधेश प्रदेश र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरेका छन् ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छँदा उनले तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखा (हालको उपत्यका अपराध अनुसन्धान कार्यालय) को नेतृत्व गरेका थिए । एसपी छँदा उनले पर्सा र दाङको नेतृत्व गरेका थिए ।