काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज सुदूरपश्चिममा आयोजना हुने तीनवटा चुनावीसभालाई सम्बोधन गर्न त्यसतर्फ जाँदैछन्।
आज कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आमसभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
कञ्चनपुरको बेलौरी नगरपालिका, कैलालीको धनगढी र बर्दगोरियामा आयोजना हुने आमसभाको सम्पूर्ण तयारी पूरा भएको एमाले कैलालीले जनाएको छ।
अध्यक्ष ओली हवाईजहाजबाट धनगढी अवतरण गर्ने र हेलिकप्टरमार्फत बर्दगोरियाको कार्यक्रममा सहभागी हुने छन्। त्यसपछि दिउँसो २ बजे कञ्चनपुरको बेलौरीस्थित खुलामञ्च आयोजना हुने आमसभालाई सम्बोधन गर्नेछन्। त्यसपछि धनगढीको आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ।
ओलीले विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रम पनि छ।