काठमाडौं : निर्वाचन आयोगले नेकपा एमालेका काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितलाई आचारसंहिता उल्लंघन गरेको आरोपमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।
मेयरका अर्का उम्मेदवार बालेन शाहका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो।
‘नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) को तर्फबाट काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेका बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
एमाले उम्मेदवार स्थापितले प्रतिस्पर्धी शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भन्दै पहिचान लुकाएको गम्भीर आरोप लगाएका थिए । यसअघि काठमाडौंको एक कलेजमा आयोजित कार्यक्रममा स्थापितले दिएको अभिव्यक्तिमाथि पनि आयोगले स्पष्टीकरण सोधेको थियो।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान लगायत विभिन्न ३७ दल तथा व्यक्तिलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।