काठमाडौं : निर्वाचन आयोगेले स्थानीय तह निर्वाचनका लागि आवश्यक मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबारको नियमित पत्रकार सम्मेलनमा मतपत्र छाप्ने काम सकिएको र शुक्रबार (भोलि)सम्म सबै जिल्लामा मतपत्र पुर्याइसक्ने जानकारी दिए ।
स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील अवस्थामा बाहेक खटिएका कर्मचारीलाई फेरबदल नगर्न आयोजनले आग्रह गरेको छ ।
यस्तै, कुनै पनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको प्रवक्ता शर्माले जानकारी दिए ।
मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएका ठाउँमा अबिलम्व जान र तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ । स्थानीय तहको निर्वाचन देशभर एकैसाथ वैशाख ३० गते शुक्रबार हुँदैछ ।