वासिङटन : सामाजिक सञ्जाल ट्विटरले विगत ६ वर्षमा प्रयोगकर्ता (यूजर)को विवरण गोपनीयता उल्लंघन गरेकोमा १५ करोड जरिवाना तिर्नुपर्नेछ।
यो आदेशसँगै ट्विटरले प्रयोगकर्ताको डाटा सुरक्षित गर्न नयाँ मापदण्ड पनि बनाउनेछ। अमेरिकी कानुन विभाग र संघीय व्यापार आयोगले ट्विटरले प्रयोगकर्तासँगको सम्झौता पालन गर्नुपर्ने आदेश पनि दिएका छन्।
ती दुवै नियामक संस्थाले ट्विटरले सन् २०११ को संघीय व्यापार आयोगको आदेश उल्लङ्घन गर्दै प्रयोगकर्तालाई धोका दिएको स्पष्ट पारेका छन्। उक्त आदेशमा प्रयोगकर्ताहरूको विवरण सार्वजनिक नगरी सुरक्षित राख्नुपर्ने उल्लेख छ।
सन् २०१३ को मेदेखि २०१९ को सेप्टेम्बरसम्म ट्विटरले प्रयोगकर्ताहरूलाई खाता सुरक्षित गर्ने भन्दै उनीहरूको फोन नम्बर र इमेल ठेगानाहरू सङ्कलन गरेको थियो। ट्विटरले यो जानकारी उपयोगकर्ता लक्षित कम्पनीहरूलाई अनलाइन विज्ञापनहरू पठाउन उपलब्ध गराएको चाहिँ बताएन। यसरी उसले आफ्ना प्रयोगकर्तालाई झुक्याएको अमेरिकी सरकारले खुलासा गरेको छ।
नियामकहरूले बुधबार दायर गरेको संघीय मुद्दामा पनि ट्विटरले युरोपेली संघ र स्वीजरल्याण्डसँगको अमेरिकी गोपनीयता सम्झौताको पालना गरेको झूटो दाबी गरेको आरोप लगाएका छन्।