काठमाडौं : स्थानीय तहको निर्वाचन २०७९ मा धादिङ जिल्लाका स्थानीय तहमा ३८ जना अध्यक्ष पदका उम्मेदवारले एक मत पनि पाएका छैनन्। निर्वाचन कार्यालय धादिङका अनुसार गाउँपालिकामा उम्मेदवारी दिएका ३८ जनालाई आफ्नै मत समेत नपरेको पाइएको हो।
केही उम्मेदवारले भने १ मत देखि दोहोरो अंकको मत समेत आफ्नो पक्षमा पार्न सकेका छैनन्। वैशाख ३० गते स्थानीय तह सदस्यका लागि भएको मतदानमा २ हजार २७५ जना उम्मेदवारहरू चुनावी मैदानमा उत्रिएका थिए। ती मध्ये पालिका प्रमुखका १५ उम्मेदवारलाई एक मत मात्रै परेको पाइएको छ।
एक मत मात्रै पाउने पालिका अध्यक्षका उम्मेदवारहरूमा गजुरी गाउँपालिका र थाक्रेमा ३/३, गल्छीमा ४ जना, धुनीबेँसी नगरपालिकामा २ र नीलकण्ठ नगरपालिका, नेत्रावती डबजोङ र रुबिभ्याली गाउँपालिकामा एक/एक जना रहेका छन्।
त्यसैगरी, पालिका अध्यक्षमा एक मत समेत ल्याउन नसकेका ३८ उम्मेदवारमध्ये थाक्रे गाउँपालिकामा ८, गल्छीमा ७, त्रिपुरासुन्दरी र बेनिघाट रोराङमा ६ जना, गजुरी र सिद्धलेक गाउँपालिकामा ५/५ तथा रुबिभ्याली गाउँपालिकामा एक जना उम्मेदवार रहेका छन्।