काठमाडौं : सरकारले वृद्धभत्ता ५ हजार नपुर्याएकाेप्रति प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा प्रश्न उठाएको छ।
बजेटमाथि छलफलको क्रममा प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद बिष्णु पौडेलले बजेट वितरणमुखी भएको आरोप लगाएका हुन्।
उनले भने, ‘बजेट वितरणमुखी छ। यतिधेरै वितरणमुखी बजेट ल्याउन सक्ने अवस्था भए सामाजिक सुरक्षा भत्ता ५ हजार किन नपुर्याएकाे?’
उनले गत निर्वाचनमा एमाले र माओवादी केन्द्रको चुनावी घोषणापत्रमा वृद्धभत्ता ५ हजार पुर्याउने भएपनि अहिले सरकारमा हुँदा माओवादी जिम्मेवारीबाट भागेको आरोप लगाए।
माओवादीप्रति प्रश्न उठाउँदै भने, ‘चुनावको घोषणापत्र ल्याउँदा एमाले र माओवादीको संयुक्त घोषणापत्र थियो। हामीले ५ बर्षमा ५ हजार पुर्याउने दाबी गरेका थियौँ। यति धेरै वितरणमुखी कार्यक्रम ल्याउँदा किन सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने जिम्मेवारीबाट भागेको?’
प्रधानमन्त्री शेरबहादुर देउवा पहिला पनि ६५ बर्षको उमेर वृद्धभत्ता दिने पक्षमा रहेको उल्लेख गर्दै अहिले किन ६८ मा पुगेको भन्दै प्रश्न गरे। सरकारले सरकारी कर्मचारीको १५ प्रतिशत तलब वृद्धि गर्दा न्यूनतम तलब भएकाहरुको समस्या समाधान गर्न नसक्ने औँल्याए।