नुवाकोट, १८ जेठ । नुवाकोटको लिखु गाउँपालिका अध्यक्ष ध्रुव श्रेष्ठ आफूले गत स्थानीय तहको निर्वाचनमा लिएका प्रतिबद्धताहरु पुरा गर्ने काममा अगाडी बढेका छन् ।
लिखु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ध्रुव श्रेष्ठले पालिकाको वडा नम्बर १ स्थित ढिकुरे बजारमा विगत लामो समयदेखि सडक विस्तारको लागि अवरोध बनिरहेको घर टहराहरु हटाउन आफैँ फिल्डमा उत्रेर काम गरिरहेका छन् ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत नुवाकोट ढिकुरे खण्डमा स्थानीयले मुआब्जा लिँदा समेत आफ्नो निजि निवास नहटाएपछि पालिका अध्यक्ष श्रेष्ठ आफैँले समन्वयकारी भूमिका निर्वाह गर्दै सडक विस्तारको कामलाई तीव्रता दिएका छन् ।
“ढिकुरे बजारको सडक विस्तारको समस्या समाधान गर्ने भनेर भाषण सबैले दिए तर म कामलाई पूर्णता दिन मैदानमै उत्रिएको छु ।”- अध्यक्ष श्रेष्ठले भने ।
ढिकुरे बजारमा सडक विस्तारमा काँडो बनेर बसेको अवरोधलाई हटाउने कुरा स्थानीयदेखि केन्द्रिय तहका विभिन्न राजनीतिक दलका नेताहरु नबोलेका भने होईनन्, राजनीतिक दलका नेताहरुले राजनीतिको बिषय बनाईएको उक्त समस्यालाई पालिकामा जनमुखी नेताको छवि बनाएका अध्यक्ष श्रेष्ठले आफ्नै नेतृत्वमा उक्त समस्यालाई समाधान गर्न सफल भएका छन् ।