कञ्चनपुर : भारतीयले झुक्याएर भारततर्फ लैजाँदै गरेकी एक किशोरीको दोधारा चाँदनीको नेपाल भारत दशगजा क्षेत्रबाट उद्धार गरिएको छ।
दोधारा चाँदनी नगरपालिका वडा नं. ७ स्थित बाबाथान प्रहरी चौकीका इन्चार्ज कृष्णदत्त भट्टको कमाण्डमा गएको टोली र माइती नेपाल कञ्चनपुरको संयुक्त टोलीले दोधारा चाँदनी नगरपालिका-७ कञ्चनभोजनजिक नेपाल–भारत सीमा स्तम्भ ७९८ (बिपी १५) दशगजा क्षेत्रमा शुक्लाफाँटा नगरपालिका-१० बस्ने वर्ष अन्दाजी १९ की किशोरीको शनिबार उद्धार गरेको हो।
किशोरीलाई भारत लग्न लागेका ग्राम बलरामपुर पोष्ट जितौरिया पुरनपुर पिलिभित उत्तर प्रदेश भारत निवासी वर्ष २९ को पवन यादवलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
उद्धार गरिएकी किशोरीले कञ्चनपुरको डोके बजारको एक होटलमा काम गर्दै आएको र भारतीय नागरिक पवनले होटलमा दिनुपर्ने रकम ४ हजार लिन आफूसँग पठाइदिन होटलका मालिकसँग आग्रह गरेको बताएकी छन्।
‘मालिकले मलाई पैसा लिन जाउ भने, महेन्द्रनगरसम्म जाऔं, त्यही बैंकबाट पैसा निकालेर दिउँला भनेर महेन्द्रनगरसम्म ल्याए। मलाई थाहै भएन। म पहिले कहिल्यै यता आएकी थिइनँ‚’ किशोरीले भनिन्। आफूलाई भारत लग्न लागेको विषयमा आफू अनभिज्ञ रहेको उनको भनाइ छ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले विशेष सूचनाको आधारमा बाबाथान प्रहरी चौकीका इन्चार्ज भट्टसँग समन्वय गरी कञ्चनभोजको दशगजा क्षेत्रबाट झुक्याएर भारत लग्न लागेको अवस्थामा किशोरीलाई उद्धार गरिएको बताइन्।