नुवाकोट,२४ जेठ । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको छ ।
मंगलबार बिहानदेखि सोमबारको सहमति नमान्ने भन्दै स्थानीयले अवरोध गरेपछि दिउसो पुगेको प्रहरी टोलीले स्थानीयको घरमै पसेर लाठी प्रहार गरेको छ । लाठी प्रहारबाट केही स्थानीय घाइते भएका छन् भने स्थानीयले हानेको ढुंगाले लागेर एकजना प्रहरी पनि घाइते भएका छन् ।
सोमबार काठमाडौंमा भएको सहमतिबमोजिम आज बिहानदेखि काठमाडौंमा करिब एक महिनादेखि थुप्रिएको फोहोर उठाउन थालिएको थियो । यता फोहोर उठाएर केही गाडी सिसडोल जाने क्रममा रहेकै बेला स्थानीयले फेरि अवरोध गरेका थिए ।
स्थानीय श्रीराम ढुंगानाका अनुसार सोमबार बेलुका काठमाडौंमा भएको सम्झौता स्थानीयले अस्वीकार गरेका छन् । यसअघि भएका सम्झौता पूर्ण कार्यान्वयनको माग उनीहरुले गरेका छन् । “हिजोको सम्झौता स्थानीयले मानेनन्,” उनले भने, “काठमाडौंबाट आएका गाडीलाई रोक लगाइएको छ । पुरानै सम्झौता कार्यान्वयन हुनुपर्ने स्थानीयको माग रहेको छ ।”
उनका अनुसार स्थानीयलाई सहमति गर्दा बेवास्ता गरिएको छ । जसरी प्रावधिक टोली गठन गरिनुपर्ने हो त्यसरी नभएको उनको भनाइ छ । यसअघि भएका सम्झौता नै खण्डन हुने गरी केही भाषा रहेकाले पनि अमान्य भएको उनको भनाइ छ । केहीबेरको झडपपछि अहिले फोहोर बोकेका सयौं गाडी सिसडोल पुगेका छन् ।