नुवाकोट, २५ जेठ । जिल्लाको म्यागङ गाउँकार्यपालिकाको पहिलो बैठकले एम्बुलेन्स खरिद गर्ने जस्ता विविध महत्त्वपूर्ण निर्णय गरेको छ। उक्त पहिलो बैठकले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रबृत्तीलाई निरुत्साहन गर्न महत्वपूर्ण निर्णय गरेको छ ।
कार्यपालिका बैठकले आर्थिक बर्ष २०७९/०८० को बैठकबाट कम्तीमा एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सिङ्दनले जानकारी दिए ।
यसैगरी शनिवार बसेको म्यागङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले छोरीलाई २० बर्ष पुरा गरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र बधाई स्वरुप नगद रु १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय समेत गरेको छ ।
गाउँपालिकाको यो निर्णयले गाउँपालिकाको मानव विकास सुचकांकमा समेत उल्लेख्य सुधार आउने र छोरीहरुलाई उच्च शिक्षा अध्ययन गराउन अभिभावकहरु उत्प्रेरित हुने गाउँपालिकाको बिश्वास रहेको छ ।
यस्तै, कार्यपालिका बैठकले स्थानीय सरकार संचालन ऐन ,२०७४ अनुसार बिभिन्न समितिहरु समेत गठन गरेको छ।अध्यक्ष आशा तामाङको सयोजकत्वमा स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, उपाध्यक्ष सीता तामाङको संयोजकत्वमा बजेट तथा कार्यक्रम तर्जुमा समिति, स्थानीय राजश्व परामर्श समिति र अनुगमन तथा सुपेरीवेक्षण समिति, कार्यपालिका सदस्य हरिकुमार तामाङको संयोजकत्वमा आर्थिम बिकास समिति र कार्यपालिका सदस्य हरिबहादुर तामाङको संयोजकत्वमा सामाजिक बिकास समिति गठन गरिएको छ ।
यस्तैगरि, कार्यपालिका सदस्य जितबहादुर तामाङको संयोजकत्वमा पूर्बाधार बिकास, जीमाबहादुर तामाङको संयोजकत्वमा वन वातावरण तथा वीपद ब्यवस्थापन, सिंगराम घलेको संयोजकत्वमा सुशासन तथा संस्थागत बिकास र सन्तविर तामाङको संयोजकत्वमा बिधेयक समिति गठन गरिएको म्यागङ गाउँपालिका कार्यालयले जानकारी दिएको छ ।