• २५ भाद्र २०८१, मंगलवार

लिखु २ मा समुदाय-प्रहरी साझेदारी कार्यक्रम सञ्चालन, सम्पूर्ण वडावासीलाई सुरक्षाको प्रत्याभूति दिने वडाध्यक्ष ज्याकको प्रतिबद्धता

नुवाकोट, २६ जेठ । महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका अपराध, महिला हिंसा, हत्या, चोरी अपराध, सामाजिक विकृति लगायतका घटनालाई नियन्त्रण गर्न लिखु गाउँपालिका वडा नम्बर २ र नेपाल प्रहरीले आजबाट संयुक्त रुपमा ‘समुदाय–प्रहरी साझेदारी’ अभियान शुरु गरेको छ ।

ईलाका प्रहरी कार्यालय ढिकुरे र वडा नम्बर २ को संयुक्त पहलमा बिहीबार विशेष कार्यक्रमको आयोजना गरी शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणका लागि पब्लिक र प्रहरी बीच साझेदारी आवश्यक रहेकोले उक्त कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

कार्यक्रममा लिखु गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेम थापामगर (ज्याक), वडा सदस्य सन्जीव लामिछाने, महिला सदस्यहरु लगायतका स्थानिय जनप्रतिनिधि, वडाका पूर्व अध्यक्ष भिम बहादुर घले, ईलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी नायव निरीक्षक हरिमान शाक्य, प्रहरी कर्मचारी, युवा, अभिभावक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

‘हर प्रहर, गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी भन्ने मूल नाराका साथ आयोजित ‘समुदाय–प्रहरी साझेदारी’ अभियान लागू गरिएको छ ।

लिखु गाउँपालिकाको वडा नम्बर २ मा‌ वडाध्यक्ष प्रेम थापामगर (ज्याक) ले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानको शुभारम्भ गर्दै स्थानिय सरकार र प्रहरी एक्लैले अपराध नियन्त्रण गर्न सक्ने नभएकाले समुदायको सहभागिता अनिवार्य भएको बताए ।

उनले भने, ‘हाम्रै समुदाय भित्रकै गुण्डा, तस्कर, बलात्कारी, भ्रष्टाचारी लगायतका अपराधीलाई कानूनको कठघरामा ल्याउन नसक्दा अपराध बढेको छ, यसको नियन्त्रणका लागि सबै जाग्न जरुरी छ ।’

‘यो अभियानले महिला हिंसा,‌ बालबालिकामाथिको बलात्कार, हत्या र अपहरण, चोरी, तस्करी लगायतका घटनालाई नियन्त्रण गर्न नयाँ पहल कदमीको शुरुवात गरेको छ’, वडाध्यक्ष ज्याकले भने, ‘शान्ति सुरक्षा समृद्ध समाज निर्माणको महत्वपूर्ण पक्ष हो ।’

समृद्ध नेपाल सुखी नेपाल निर्माणका लागि शान्तिसुरक्षा र अपराध मुक्त समाज पहिलो प्राथमिकता भएको चर्चा गर्दै ईलाका प्रहरी कार्यालय ढिकुरेका प्रहरी नायव निरीक्षक हरिमान शाक्यले प्रहरीले सञ्चालन गरेको अभियानलाई जनताको घर दैलोसम्म पुर्याउन जनप्रतिनिधिको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

प्रहरी नायव निरीक्षक शाक्यले ‘समुदाय–प्रहरी साझेदारी’ अभियान बारे बताउँदै आमनागरिक बर्दीविनाको प्रहरी भएकाले प्रहरीले सञ्चालन गर्ने अपराध नियन्त्रण अभियानमा समुदायको सहभागिता अनिवार्य भएको बताए ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमले लिखु २ मा स्थानीय तहको न्यायिक अधिकार कार्यान्वयनमा प्रभावकारिता, सुरक्षा सचेतना अभिबृद्धि, सामाजिक विकृति नियन्त्रण, विकासमा प्रभावकारी सुरक्षा, अपराधमा न्यूनीकरण, प्रहरी तथा जनसेवा प्रवाहमा अभिवृद्धि गर्न स्थानीय तहमा बृहत र प्रभावकारी सञ्चालन फैलाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


हाल देशैभरका प्रत्येक टोल टोल तथा वडा वडाहरुबाट लागू हुने ‘समुदाय–प्रहरी साझेदारी’ अभियानमा ७ सय ५३ वटा स्थानीय तह, ६ हजार ७४३ वटा वडाका वडा प्रमुखहरु, २ हजार ५४५ प्रहरी कार्यालयहरु, ३६ हजार विद्यालयहरु र १० हजार गैरसरकारी तथा सामाजिक संस्थाहरु परिचालन हुनेछन् ।

त्यस्तै, नगरपालिका र गाउँपालिकाका ३५ हजार जनप्रतिनिधिहरु, ७५ लाख विद्यार्थीहरु, ४० हजार अभिभावक, चारलाख शिक्षक–शिक्षिका र ७५ हजार प्रहरी कर्मचारी प्रत्यक्ष रुपमा यो अभियानमा सहभागी छन् ।





प्रतिक्रिया दिनुहोस्