नुवाकोट, ११ असार । नुवाकोट प्राकृतिक विपद्का दृष्टिकोणले उच्च जोखिममा नरहेको भएतापनि जिल्लाको केहि ठाउँहरुमा विकास निर्माणको नाममा हुने लापरबाहीलर हरेक बर्खायाममा बाढीपहिरोले ठूलो जनधनको क्षति गर्ने गरेको छ ।
यसपालि पनि बर्खायाम सुरु भएसँगै जिल्लाको नुवाकोट दरबार- उर्लेनी सडक खण्ड निर्माणमा भएको ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय नुवाकोटको लापरवाहीले जमिन भासिएर धेरै स्थान पहिरोको उच्च जोखिममा छन्।
जिल्लाको विदुर नगरपालिकाको वडा नम्बर १० र र लिखु गाउँपालिकाको २ नम्बर वडाको सिमानामा पर्ने चिण्डे भञ्ज्याङमा नुवाकोट दरबार- उर्लेनी सडक खण्ड विस्तारको काममा भएको लापरवाहीले लिखु २ को १० घरपरिवार पहिरोको उच्च जोखिममा रहेका छन् ।
साथै उक्त पहिरोले फन बोर्डद्वारा सञ्चालित साविक खानिगाउँ गाविसको ७, ८, र ९ नम्बर वडाको खानेपानी सेवा समेत अवरुद्ध हुन पुगेको र ड्वाछे् खानेपानी नुवाकोट पाइपलाइन ध्वस्त भएको छ ।
भिरालो जमिन भएको क्षेत्रमा वातावरणीय मुल्याङ्कन विना नै सडक कटानका कारण गाउँ जोखिममा रहेको लिखु गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेम थापामगर (ज्याक) बताउँछन् ।
यसरी सडक आयोजनाको र पूर्वाधार विकास कार्यालय नुवाकोटको लापरवाहीले गर्दा पहिरोबाट प्रभावित हुनेको व्यवस्थापनमा गाउँपालिकालाई पनि ध्यानाकर्षण गराएको र वडा नं २ ले पनि आवश्यक पहल गरिरहेको वडाध्यक्ष प्रेम थापामगरले बताए ।
सडक आयोजना कम्पनी र पूर्वाधार विकासले एकअर्कालाई आदेश दिनेबाहेक योजनावद्ध रूपमा काम गर्न नसकेको देखिँदैन ।
मनसुन सुरु भइसक्दा पनि जिम्मेवार निकाय भनिएको सडक पूर्वाधार विकास कार्यालयको मौनताले उक्त ठाउँमा ठूलो क्षेति हुने सम्भावना देखिएको छ ।
यसरी आफैँमा जिम्मेवार निकायहरु कानमा तेल हालेर बस्दा वडाध्यक्ष ज्याक लगायतका वडा नं. २ का जनप्रतिनिधि र ईलाका प्रहरी कार्यालय ढिकुरेका सुरक्षाकर्मीहरुले उक्त पहिरोको जोखिममा रहेको स्थानको निरीक्षण गरेका छन् ।
उक्त पहिरोको जोखिममा रहेको स्थानको निरीक्षण पश्चात वडाध्यक्ष ज्याकले अव्यवस्थित रुपमा भएको सडक विस्तारको कामले निम्तिन लागेको समस्यालाई कसैलेपनि वेवास्ता गरेर स्थानीयलाई जोखिममा पार्न नहुने बताए ।
उनले पूर्वाधार विकास कार्यालय र सडक आयोजना कम्पनीलाई यथाशिघ्र पहिरोको जोखिममा रहेका परिवारकालाई अन्यत्र वासको व्यवस्था गरि जोखिम न्युनिकरणको काम गर्न अनुरोध गरेका छन् ।
वडा अध्यक्ष ज्याक लगायतका जनप्रतिनिधिहरुले गत शुक्रबार उक्त पहिरोको निरीक्षण गरि सम्बन्धित निकायलाई पहल गर्दा शनिबार केहि थान त्रिपाल टाँगेर स्थानियलाई अन्यत्र बस्ने व्यवस्था मिलाईएको छ ।