काठमाडौं : एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान पार्टीमा १२ जना पदाधिकारी रहने भएका छन्। गौतम नेतृत्वको पार्टीले रिपोर्टर्स क्लबमा सोमबार पत्रकार सम्मेलन गरेर पार्टी र पदाधिकारीको घोषणा गरेको हो।
एकजना अध्यक्ष, ७ जना उपाध्यक्ष, एकजना महासचिव, एकजना उपमहासचिव, एकजना कोषाध्यक्ष र एकजना सचिव रहने एकता अभियानका नेता निमकान्त पाण्डेले बताए।
पाण्डेका अनुसार सो पार्टीमा ७५ जना केन्द्रीय र १५ जनाको स्थायी कमिटी सदस्य रहनेछन्। अहिले सो पार्टीको संयोजकमा वामदेव गौतम, सचिवमा डिबी काकी र सदस्यमा ओम शर्मा चालिसे, डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहेका छन्।
नेकपा विभाजनपछि एकता अभियान चलाइरहेका गौतमले नयाँ पार्टीको घोषणा गरेका हुन्।