नुवाकोट, १९ असार । नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अर्जुन नरसिंह केसीको पहलमा नुवाकोटको म्यागङ गाउँपालिका स्थित किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ ।
केसि परिवारको यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टको पहलकदमीमा मित्र राष्ट्र भारतको राजदुतावासले स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराएको हो ।
किम्ताङ स्वास्थ्य चौकीलाई एम्बुलेन्स उपलब्ध गराउन म्यागङ गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कमल तामाङको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
यस अघि भारतको सहयोगमा नै यसोदादेवी भगवान सिंह मेमोरियल ट्रस्टको समन्वयमा समुन्द्रटारको सुर्यमति चन्द्रावति बहुउद्देश्यीय सहकारी संस्था, शिवपुरि गाउँपालिकाको सल्लेमैदान हेल्थ पोष्ट, ककनी गाउँपालिका बेल्कोटगढि नगरपालिका अन्तर्गत कुमरी हेल्थ पोष्ट र जिलिङ रेडक्रस शाखालाई एम्बुलेन्स उपलब्ध गराइएको थियो ।
त्यस्तै तारकेश्वर गाउँपालिकालाई केहि बर्ष अगाडि नै व्यवस्था गरिएको र सुचारु रुपले सन्चालनमा रहेको छ। तर मित्र रास्ट्र जापानमा रहेका नेपालीबाट प्राप्त एम्बुलेन्स नुवाकोट जिल्ला रेडक्रस सोसाइटीलाई प्रदान गरिएको थियोे । तर हाल उक्त एम्बुलेन्सलाई निजिकरण गरिएको भन्ने गरिएको छ ।
यशोदा देवि भगवानसिंह केसी मेमोरियल ट्रष्टको समन्वयमा हाल सम्म नुवाकोट जिल्लामा नौ स्थानमा एम्बुलेन्स वितरण गरिएको छ ।