• २६ श्रावण २०७९, बिहीबार

देशभरिका ५१ प्रतिशत सरकारी विद्यालयमा मात्र कम्प्युटर

काठमाडौं : देशभरि रहेका सरकारी विद्यालयमध्ये आधामा मात्र कम्प्युटर सुविधा पुगेको छ। आर्थिक सर्वेक्षण २०७८/०७९ अनुसार देशभरि रहेका २६ हजार ४ सय ५४ सरकारी विद्यालयमध्ये फागुनसम्ममा जम्मा १३ हजार ५ सय ५९ अर्थात ५१ दशमलव ३ प्रतिशत विद्यालयमा कम्युटर सुविधा पुगेको हो।  

ती विद्यालयमध्ये पनि ८ हजार ६ सय ७६ विद्यालयले शिक्षण सिकाइ क्रियाकलापमा सूचना प्रविधिको प्रयोग गर्दै आएका छन्। चालू आव ०७८/७९ मा विद्यालय क्षेत्र विकास कार्यक्रम र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ३ हजार १ सय ९३ माध्यमिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला आइसिटी ल्याब स्थापना तथा स्तरोन्नति गरिएको छ।

फागुनसम्म ५६ जिल्लालाई साक्षर घोषणा गरिएको छ। ‘चालू शैक्षिक शत्रमा विद्यालय दिवा खाजा कार्यक्रमबाट देशभरिका २९ लाख ९३ हजार ९ सय ३३ विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन,’ सर्वेक्षणमा भनिएको छ।

विश्व खाद्य  कार्यक्रमको सहयोगमा वस्तुगत सहायतामा आधारित दिवा खाजा कार्यक्रमबाट जाजरकोट, दैलेख, डोटी, अछाम, बझाङ र दार्चुलाका गरी २ लाख ४६ हजार ७ सय ५५ विद्यार्थी लाभान्वित भएको अर्थ मन्त्रालयले जनाएको छ। सरकारको पढ्दै कमाउँदै कार्यक्रमबाट ३ हजार ६८ जना विद्यार्थी लाभान्वित भएका छन्।





प्रतिक्रिया दिनुहोस्