• २ बैशाख २०८१, आईतवार

ठमेलस्थित कल सेन्टरबाट चार चिनियाँ नागरिक पक्राउ

काठमाडौं : पछिल्लो समयमा नेपाल प्रहरीले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लाका कल सेन्टरमा छानबिन गरिरहेको छ। कल सेन्टरको नाममा विभिन्न व्यक्तिहरुलाई ठगी गर्ने गरेको पाइएपछि प्रहरीले कल सेन्टरमा छापा मारेको हो।

दुईदिन अघि मात्रै तीनकुनेको एक कल सेन्टरमा छापा मारेको जिल्ला प्रहरी परिसर काठमाडौंले ठमेलको ज्याठास्थित कल सेन्टरमा बुधबार छापा मारेको छ। त्यहाँबाट चार जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कल सेन्टरबाट २६ थान ल्यापटप र ४७२ थान मोबाइलसमेत बरामद भएको छ। अस्ति साउन ९ गते मात्रै तीनकुनेस्थित स्काई वर्ल्ड सर्भिस प्रालिमा छापा मारेर प्रहरीले एक जना चिनियाँ, २ जना भारतीय नागरिकसहित ३६ जनालाई नियन्त्रणमा लिएको थियो।

सर्वसाधारणका लागि टेलिफोन बुथ र साइबर क्याफे संचालन गर्ने भनेर दर्ता गरिएको सो कम्पनीले विभिन्न एप्समार्फत भारतमा ऋण दिएर मिटर ब्याज असुल्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

त्यसकै अघिल्लो दिन रुपन्देहीको तिलोत्तमा नगरपालिका २ स्थित जानकी नगरको ब्लु स्काई कल सेन्टरमा छापा मारेको थियो। घर भाडा नै लिएर कार्यालय सञ्चालन गर्ने, सर्वसाधारणलाई अश्लील सन्देश पठाउने गरेको खुलेपछि सञ्चालक सहित करिब डेढ सय कामदार पक्राउ परेका थिए।

सो कल सेन्टरले पनि विभिन्न मानिसका मोबाईल ह्वाट्सएप, फेसबुक तथा सामाजिक सञ्जालहरुमा चिट्ठा परेको भन्दै म्यासेज पठाउने र ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ।





प्रतिक्रिया दिनुहोस्