नुवाकोट: देश संघियतामा गएपछि भएको दोस्रो स्थानीय तह निर्वाचन भएको आज ७० दिन पूरा भइसकेको छ । करिव ३ महिनामा कतिपय स्थानीय तहले अझै चुनावी घोषणापत्रअनुसार काम नभएको बताइरहेका छन् ।
भ्रष्टाचार, सामाजिक विकृतिजस्ता समस्याले जनप्रतिनिधिको कार्यक्षमता र चरित्रमाथि नै प्रश्न उठिरहेको छ । तर, केहीले भने उत्कृष्ट काम गर्दै आएका छन् भने उनीहरूको कामबाट स्थानीय प्रभावित भएका छन् ।
यस्तै, उत्कृष्ट काम र नतिजाले नुवाकोटको सूर्यगढी गाउँपालिका वडा नम्बर ५ का स्थानीय निकै खुसी छन् । सूर्यगढी गाउँपालिकाको वडा नम्बर ५ का स्थानीय ‘वडाध्यक्ष’ को कामबाट सन्तुष्ट बनेका हुन् ।
वडा नम्बर ५ मा नेपाली कांग्रेसबाट विजयी वडाध्यक्ष अच्युतराज ढकाल (अंकित) को कार्यकुशलतालाई लिएर सर्वसाधारणले चर्चा गर्न थालेका छन् ।
कारण हो, विकास । लामो समयपछि विकासको अनुभूति गर्न पाउँदा स्थानीय दंग छन् ।
समानुपातिक र सन्तुलित विकासलाई जोड दिएका वडाध्यक्षले भौतिक पूर्वाधारको विकासदेखि सामाजिक, सांस्कृतिक विकासमा पनि उत्तिकै जिम्मेवारी निर्वाह गर्दै आएका छन् ।
वडा नम्बर ५ मा भइरहेको विकासबाट अन्य वडाले समेत सिक्नुपर्ने गाउँपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत धिनेन्द्र भुजेल बताउँछन् ।
सूर्यगढी गाउँपालिकाका कतिपय वडाहरुमा सामाजिक सुरक्षा भत्ता लिनको लागि दिनहुँ वडा कार्यालय र बैंकमा भौतारिनुपर्ने र असहजता रहेको देखिन्छ तर वडा नम्बर ५ मा वडाध्यक्ष ढकालले सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई घरदैलोमा बैंकपुर्याएर सहज बनाएका छन् ।
तर, हाल स्थानीय तहमा भइरहेका विकास निर्माणप्रति वडाध्यक्ष भने स्वयं सन्तुष्ट छैनन् ।
पूर्वाधार विकासलाई मात्रै विकास मान्नु गलत भएको भन्दै वडाध्यक्ष ढकालले स्थानीयले सामाजिक चेतनामा आएको परिवर्तनलाई पनि विकास मान्नुपर्ने सुझाउँछन् ।
“मैंले वडाध्यक्ष हुँदा भन्दा बाहिर रहँदा पनि समाजसेवा गरेकै हुँ । जनताले चुनेर पठाएपछि एउटा अवसर भयो र यो अवसरको मनैदेखि प्रयोग गरेको हुनाले ठूलो उपलब्धी हाँसिल गरेको जस्तो लाग्छ ।” – वडाध्यक्ष ढकाल भन्छन्।
“भर्खरै ७० दिनको कामले मात्र पनि आगामी दिनमा सूर्यगढी ५ लाई देशकै नमुना वडाका रुपमा परिचित गराउन सक्ने विश्वास बढेको र आगाडी बढ्न पनि महत्वपुर्ण भूमिका खेलेको छ ।” वडाध्यक्ष ढकालले भने, “काम गर्नुपर्ने त धेरै छन् र गर्छौं भनेका पनि छौं । मेरो कार्यकालमा वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, सडक लगायतको क्षेत्रमा स्तरोन्नती गरी वडालाई समृद्धिको बाटोमा पुर्याउने योजना रहेको छ । कृषि क्षेत्रमा विकास गरी वडाका जनतालाई कृषिमा आत्मनिर्भर बनाउने र गाँउघरमा उत्पादन भएका बस्तुहरु बाहिर निर्यात गरी गाँउमा नै रोजगारीको सृजना गर्न योजना मैले बनाएको छु, जुन पुरा गर्छु भन्ने लागेको छ । त्यो योजना कार्यान्वयनका लागि केही कार्यक्रमहरु पनि बनेका छन् । साथै महिला, बालबालिका, दलित, असाहय र अपाङग व्यक्तिहरुलाई समान रुपको हक प्रदान गर्न हाम्रो कार्यकाल खर्च हुने छ ।”
हरेक व्यक्तिको पहिचान उसको कामले हुन्छ । सूर्यगढी गाउँपालिका वडा नम्बर ५ का अध्यक्षलाई यति धेरै महत्त्व नागरिक स्तरबाट दिनुको मुख्य कारण भनेकै उनले गरेको काम हो ।
ढकालले जेठ ५ गते वडाध्यक्षको सपथग्रहण गरेपछि आजको ७० दिन सम्म गरेको महत्वपूर्ण काम र उपलब्धिहरु:
१ . वडाको सम्पूर्ण बाटोहरु सरसफाई र खाल्डाखुल्डी पुर्ने काम भयो ।
२. सम्पूर्ण विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत कालिमाटी स्थित जालपादेवी युवा आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री वितरण।
३. विश्व पर्यावरणीय कार्यक्रम अन्तरगतको कृषि वन कार्यक्रम सुचारु, कफिको नर्सरी गरियो जुन कार्यक्रम बहुबर्षिय बार्षिक बाली जस्तै:-एभोकाडो, चिउरी, लप्सी, आँप, लिची, कटहर, लगायतको नर्सरीको काम हुँदै छ । जुन बीस बर्से कार्यक्रम सुचारु भैसकेको छ ।
४.सुर्यगढी ५ मा सञ्चालनमा रहेका मुख्य मोटरबाटोहरु : बगरबजार कालिमाटी भञ्ज्याङ् हुँदै झोलेखोल्चा आमभन्ज्याङ्ग हुँदै जालपा देवि मन्दिर पर्यटक मार्ग, ताप्रेचौर सिंगारे हुँदै ढकाल डाडा गणेशस्थान मोटरबाटो फेदिबेसी पिप्ले खारे हुँदै डाडे स्याङ्ले मोटरबाटो , गण्डकी खोल्चा बगुवा हुँदै रातमाटे मोटर बाटोको डिपिआर गरि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा फाइलिङ्ग ।
५.विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत वडामा रहेका पाँच वटै बिद्यालयहरुलाई शैक्षिक सामाग्री वितरण ।
६. कृषि पेसामा निर्भर हाम्रो कृषकहरुलाई गाउँपालिकाको ५०% अनुदानमा हाते ट्याक्टर वितरण ।
७. वडाम सञ्चालित सम्पूर्ण योजनाहरुको अनुगमन ।
८. वडाका बाख्रा पकेट समन्वय समितिलाइ ५0% अनुदानमा विभिन्न मेसिन औजारहरु हस्तान्तरण ।
९. सम्पूर्ण वडावासीहरुकोआर्थिक उन्नति र वातावरण संरक्षणको लागि जिल्ला वन कार्यलयबाट धुपी , सिसौ, सुनचाप, कपुर लगायत विभिन्न विरुवाहरु वितरण।
१०.वडामा रहेका दन्त सम्बन्धि समस्या भएका करिब एक हजार बिरामीहरुलाइ उपचार ।
११. प्रोत्साहन स्वरुप जिल्ला स्तरीय कविता वाचनमा प्रथम हुनुभएका ननिसा कडेललाई सम्मान ।
१२. बर्सौँ देखि हिडडुल गर्न नसक्ने दुईजना असक्तहरुलाई व्हिलचियर वितरण ।
१३.वडा पशु सेवा मार्फत गोबर जाँच्ने , खसीपार्ने व्यवस्था वडाबाटै सुरु ।
१४. वडाका सम्पूर्ण विद्यालय क्षेत्रमा बृक्षारोपण साथै स्वास्थ चौकिको प्राङ्गणमा समेत बृक्षारोपण ।
१५ . स्वास्थ समिती गठन गरि दिर्घरोगिहरुको लागि नियमित औषधिको व्यवस्थाको लागि प्रक्रिया अगाडि बढाइएको ।
१६.मच्छेदेवि मन्दिर सरसफाई तथा मरणपाटी बाटो मर्मत ।
१७. एम्बुलेन्स ल्याउने प्रकृया लगभग ७५% पूरा भएको र अब छिट्टै आउने ।
१८. वडामा रहेका सम्पुर्ण राजनैतिक दल, संघसंस्था, सामुदायिक वन, सहकारी, विद्यालय र सम्पुर्ण व्यवसायीहरुसँग छ्लफल अन्तरक्रिया गरिरहेको ।
१९.सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण ।
२०. तीन स्थानमा सोलार लाइटको व्यवस्था : माछापोखरी मरणघाट जाने बाटो, कालिमाटी र डुडेखोल्चामा गरि तीन ठाउँमा तिनवटा सोलार लाइट
२१. बिगत दस बर्षदेखि बन्द रहेको सिद्दी गणेश प्राथमिक विद्यालयको जिर्ण रहेको भवनलाई पुन सुचारु गरेर तालिम केन्द्रको रूपमा सञ्चालन गर्न लागिएको
२२. टोलटोलमा गई योजना छनोट गरेर अन्य धेरै योजनाहरु गरिँदै छ । जुन कार्यले सूर्यगढी ५ का जनताको जिवनमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने छ ।