नुवाकोट : बागमती प्रदेशको काठमाडौं महानगरपालिकासहित १९ वटा स्थानीय तहले अझैसम्म चालू आर्थिक वर्षको बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश गरेका छैनन्।
चालू आर्थिक वर्ष २०७९\८० को बजेट असारमा नै पास गरिसके पनि बागमती प्रदेशका १९ स्थानीय तहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पेश नगरेका हुन्। नयाँ आर्थिक वर्ष सुरु भएको दुई साताभन्दा बढी भइसके पनि १९ स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको छ।
बागमती प्रदेशमा १ सय १९ स्थानीय तह रहको छ। तीमध्ये देशको संघीय राजधानी रहेको काठमाडौं महानगरसहित १९ वटा पालिकाको बजेटको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उल्लेख भएको छैन। बजेट पेश भएका स्थानीय तहका विवरण मन्त्रालयको वेबसाइटमा अपडेट हुन्छ। वेबसाइटको हेर्दा प्रदेशका १९ स्थानीय निकायले बजेट पेश गर्न नगरेको देखिएको हो। प्रदेशमा रहेका ११९ मध्ये हालसम्म १०० स्थानीय तहले बजेट पेश गर्दा १९ स्थानीय तहले अझै पेश नगरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
मकवानपुर, काभ्रेपलाञ्चोक, भक्तपुर र रसुवा जिल्लाका सबै स्थानीय तहको बजेट मन्त्रालयमा पेश गरिसकेको छ भने बाँकी ९ वटा जिल्लाका केही स्थानीय तहले हालसम्म चालू आर्थिक वर्षको बजेट मन्त्रालयमा पेश गरेको छैन।
नुवाकोट जिल्लामा १२ स्थानीय निकाय रहेकोमा बेलकोटगढी नगरपालिका र दुप्चेश्वर गाउँपालिकाले बजेट पेश गरेका छैनन्।