त्रिशूली । बिदुर नगरपालिकाले पालिकाभित्रका स्वास्थ्य सँस्थाको सेवा प्रभावकारी बनाउने उद्देष्यले स्वास्थ्य सँस्थालाई आवश्यक औषधी सहितको अनुगमनको लागी नगरको निर्वाचित प्रतिनिधिहरु सम्बन्धित स्वास्थ्यको अनुगमन सहित सेवाग्राहीको समेत प्रतिक्रिया संकलन गरेका छन् ।
विदुर नगरपालिकाले नगरबासीको स्वास्थ्य सेवा प्रवाहका लागी विभिन्न १८ वटा स्वास्थ्य सँस्था मार्फत पुराउदै आएको सेवाको अवस्था, स्वास्थ्यकर्मी/जनशक्तिको उपलब्धता, सेवाग्रहीको प्रतिक्रिया संकलनको लागी आवश्यक औषधि सहित नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी सहितको टोली प्रत्येक स्वास्थ्य सस्थामा पुग्न थालेको हो ।
स्वास्थ्य सँस्थाहरुलाई कम्तिमा तीन महिनाको लागी आवश्यक पर्ने औषधिको माग गर्न लगाई सोही अनुसारको औषधि लिएर स्वास्थ्य सँस्थाको सेवा प्रवाहको वस्तुस्थिती अनुगमन तथा निरीक्षणको क्रममा आज वडा नं. ५ मा पुगेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार चालु आर्थिक वर्षमा वडा नं .२ मा रहेका दुईवटा, वडा नं. ३ मा रहेका दुईवटा, वडा नं. १२ र १३ मा रहेका स्वास्थ्य सँस्थामा गइसकेको हो ।
स्वास्थ्य सँस्थाको लागी संघीय सरकारले तोके अनुसार विभिन्न ३८ प्रकारका औषधि र विदुर नगरपालिकाले थप गरेर ४५ प्रकारका औषधि लिएर वडा नं. ५ को स्वास्थ्य चौकीमा नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी र आजदेखि नै जिम्मेवारी सम्हाल्न आउनुभएका नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बिनोदकुमार खनाल सहितको टोली पुग्नुभएको हो । कम्तिमा तीन महिनाको लागी स्वास्थ्य चौकीबाट निःशुल्क वितरण गर्ने माग अनुसारको औषधि नगरपालिकाको तर्फबाट वडा नं. ५ को वडाध्यक्ष लिलानाथ न्यौपानेलाई हस्तान्तरण गरिएको हो ।
औषधि उपलब्ध गराउदै नगरप्रमुख राजन श्रेष्ठ र उपप्रमुख प्रभा बोगटीले स्वास्थ्य चौकीबाट प्रवाह हुने सेवा, जाँच तथा परीक्षण गराउन आउने बिरामीको गुनासो, उनीहरुको स्वास्थ्य अबस्था सहित सेवा प्रवाहको सन्तुष्टिको सम्बन्धमा बिरामीहरुसंग जानकारी लिनुभएको छ ।
विदुर नगरपालिकाको तर्फबाट तत्कालका लागी १७ लाख रुपैयाँको औषधि खरिद गरेर पालिका अन्तरगत रहेका विभिन्न १७ वटा स्वास्थ्य सँस्था र त्रिशूली अस्पताललाई सामाग्रि उपलब्ध गराउने क्रम जारी रहेको स्वास्थ्य शाखा प्रमुख पूर्णध्वज श्रेष्ठले जानकारी दिनुभएको छ । उहाँको अनुसार स्वास्थ्य सँस्थामा जनप्रतिनिधि र कर्मचारी सहितको टोली पुगेर स्वास्थ्य सँस्थाको अनुगमन, निरीक्षण तथा सेवा प्रवाहको वस्तुस्थित बुझ्ने क्रममा बाँकी रहेका स्वास्थ्य सँस्थामा पनि जतिसक्दो चाडो जाने तालिका बनाइएको छ ।
विदुर नगरपालिकाका भित्र हाल बर्थिङ सेन्टर अर्थात सुत्केरी सेवा केन्द्र सहितको ६ वटा स्वास्थ्य चौकी, सातवटा शहरी स्वास्थ्य केन्द्र र चारवटा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा रहेका छन् ।
यसैगरी, नगरपािलकाले त्रिशूली अस्पतालमा मातृ शिशु परीक्षण कक्ष सञ्चालनमा ल्याएको छ भने त्रिशूली अस्पतालमा समेत गर्भवती जाँच गराउन जानेहरुको लागी क्याल्सियम र त्रिशूली अस्पतालमा सुत्ेकरी हुनेहरुको लागी न्यानो झोला पनि उपलब्ध गराउदै आएको छ ।
यो समाचार टप नेपाल न्युजमा प्रकाशित रहेको छ ।