• ३ चैत्र २०८१, सोमबार

उचित मूल्य नपाएर स्टोरेज गरेको आलु कुहिएपछि लिखुका किसानलाई क्षतिपूर्ति दिन सांसद तामाङको माग

काठमाडौं : नेकपा (माओवादी केन्द्र) का संघीय सांसद हितबहादुर तामाङले नुवाकोट लिखु गाउँपालिकाका आलुखेती गरेका किसानहरुलाई क्षतिपूर्ति दिन माग गर्नुभएको छ । 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शुन्य समयमा धारणा राख्नुहुँदै सांसद तामाङले लिखुका किसानले उत्पादन गरेको साढे ४ लाख बोरा निलो जातको आलु उचित मूल्य नपाएका कारण कुहिँदा किसान मर्कामा परेकोले उनीहरुलाई तत्काल क्षतिपूर्ति दलाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । 

‘नुवाकोटको लिखु गाउँपालिकामा किसानले अत्याधुनिक तरिकाले निलो जातको आलु उत्पादन गरिराखेको छ, करिब ४ लाख ५० हजार बोरा । ती आलु नुवाकोटलगायत धादिङ, कास्की पोखरा, भक्तपुर र काभ्रेपलाञ्चोकका कोल्डस्टोरहरुमा समेत स्टोरेज गरिराखेको स्थिति छ । ती किसानले  आलुको मूल्य प्राप्त गरिराखेका छैनन्,’ उहाँले भन्नुभयो, ‘उचित मूल्य नपाउँदा स्टोरेज आलु कुहिरिएर फाल्नुपरेको छ । त्यसैले ती किसानहरुलाई छिटोभन्दा छिटो क्षतिपूर्तिको व्यवस्था गरियोस् भनेर सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

नुवाकोट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तामाङले देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्ने भएकोले उत्पादन बढाउन र आयतीत वस्तुलाई निरुत्साहित गर्ने कार्यलाई प्राथमिकतामा दिनुपर्नेमा जोड दिनुभयो ।





प्रतिक्रिया दिनुहोस्