नुवाकोट: नुवाकोटको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नागरिकको गुनासो सुन्न घरदैलो अभियान सुरु गरेका छन् ।
नगरवासीको घरमै पुगेर प्रत्यक्ष रुपमा गुनासो सुनेर कार्यान्वयन गर्नका लागि अभियान सुरु गरिएको मेयर श्रेष्ठले बताए ।
उनी नगरपालिकामा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।
नेता विजयी भए पश्चात मतदातालाई बिर्सिने र केही काम नगर्ने जनतामा रहेको भ्रम चिर्नका लागि आफूले यस्तो अभियान चलाएको मेयर श्रेष्ठले बताएका छन् ।
उनले भने, ‘मैले नगरवासीको लागि काम गर्न सक्छु भन्ने विश्वास गरेर नै मलाई विजयी गराएका हुन् । अहिले म उनीहरुको विश्वासको कदर गर्दै प्रत्यक्ष रुपमा गुनासो सुनेर समस्या समाधान गर्नका लागि घर टोलमा पुगिरहेको छु ।’
उनले नगरवासीको घर-घरमा पुग्नुका साथै साविकको प्रत्येक वडामा स्थानीयहरुको भेला गरेर उनीहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएका छन् ।
उनले नगरको सडकको अवस्था दयनीय रहेको भन्दै सडक मर्मतलाई आफूले प्राथमिकतामा राखेर वर्षायाम सकिएलगत्तै काम सुुरु गर्ने बताए ।
जनतालाई केन्द्रमा राखेर विदुरको विकासका लागि आफू लागिरहने मेयर श्रेष्ठले प्रतिबद्धता जनाएका छन्।
उनले यस क्षेत्रमा अझै पनि सडक, यातायात, शिक्षा, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको र अब सम्पुर्ण काम गरेर देखाउने दाबीसमेत गरेका छन्।