मोरङ: सुनवर्षी नगरपालिका-८ खडेबारीबाट अटोमेटिक चाईनिज पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.०५ एमएम राउण्ड १ थान र सिक्सर पेस्तोल १ थान सहित सोही नगरपालिका-८ हरिचन्द्रगढी बस्ने २९ वर्षीय आरिफ मियाँ आइतबार साँझ पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिक्टीबाट खटिएको टोलीले को.२७ प ४०६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा आरिफलाई कम्मरमा लुकाई ल्याएको उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो ।
साथै थप सोधपुछको क्रममा ती हतियारहरू उर्लाबारी नगरपालिका-६ तरुण टोल बस्ने २९ वर्षीय नबिन धिमालले मगाएको खुल्न आएपछि प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरीले उनलाई रतुवामाई नगरपालिका-८ डाम्राभिट्टाबाट पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले नगद ४७ हजार ७ सय ७० रूपैयाँ समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।