• ३ चैत्र २०८१, सोमबार

डिजिटल बोर्ड खरिद प्रकरणमा अध्यक्षको संलग्नता छैन : प्रमुख प्रशासकीय अधिकृत अधिकारी

काठमाडौं- नुवाकोटको तारकेश्वर गाउँपालिकाले एलईडी बोर्ड (डिजिटल बोर्ड) खरिदमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह गरेको छ ।  गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले जारी गरेको विज्ञप्तिमा सार्वजनिक खरिद प्रक्रिया विशुद्ध प्रशासनिक विषय भएकोले त्यसमा पालिकाका अध्यक्ष लगायत कुनै पनि पदाधिकारीको संलग्नता नरहेको दबी गरेका छन् ।

उनले खरिद कार्यमा संलग्न कर्मचारीबाट कुनै अनियमितताजन्य कार्य भएको प्रमाण भएमा छानबिन गर्न उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक तथा कानुनी संरचनाहरूलाई अनुरोध गर्दै त्यसमा कार्यालयको पूर्ण सहयोग रहने विज्ञप्तिमार्फत जनाएका छन् ।

विज्ञप्तिमा हालै स्थानान्तरण भएको कार्यालयमा एलईडी बोर्ड राख्न बजेट सुनिश्चित भए पश्चात् सार्वजनिक खरिद ऐन, नियमावली तथा अन्य प्रचलित कानुन बमोजिम १० लाखसम्मको खरिद सोझै खरिद गर्न पाउने प्रावधान बमोजिम खरिद कार्य अघि बढाइएको उल्लेख गरिएको छ ।

हाल खरिद गरिएको बोर्डमा सामान्य किसिमको बोर्डमा भन्दा थप विशेषताहरु रहेकाले मूल्य केही बढेको उनको भनाइ छ । प्रश्न उठिसकेपछि तत्कालका लागि सामान आपूर्तिकर्तालाई रकम भुक्तान रोक्का गरिएको विज्ञप्तिमा उल्लेख छ ।

फोटो विवरण उपलब्ध छैन।

यो समाचार विश्व खबरमा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्