काठमाडौं : आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा ८७ वटा राजनीतिक दल भाग लिन पाउने भएका छन् । राजनीतिक दलबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा ८७ राजनीतिक दल कायम गरिएको आयोगले जनाएको हो ।
त्यसैगरी पदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनका लागि प्रदेश एकमा ६२ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७० रहेको आयोगले जनाएको छ
मधेश प्रदेशमा ६७ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७५, बागमती प्रदेशमा ६४ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ७२, गण्डकी प्रदेशमा ५८ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६६ रहेको छ ।
यस्तै, लुम्बिनी प्रदेशमा ६० वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६८, कर्णाली प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ वटा दलका निर्वाचन चिन्हमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको संख्या ६४ रहने गरी आयोगले निर्णय गरेको छ ।
आयोगले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता, निर्वाचन चिन्ह प्रदान र निर्वाचन चिन्हको क्रम निर्धारणसम्बन्धी निर्णय गरेको हो । आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधि भित्र प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार वटा निवेदन गरी जम्मा ८४ वटा निवेदन प्राप्त भएको आयोगले जनाएको छ ।
यसैबीच निर्वाचनमा सहभागी हुन नेकपा माओवादी केन्द्र लगायतका पाँच राजनीतिक दलले एकल चुनाव चिन्ह लिई निर्वाचनमा सहभागी हुनुपर्ने भएको छ । माओवादीसहित नेपाल समाजवादी पार्टी, नेपाल दलित पार्टी, आधुनिक नेपाल समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी ९समाजवादी०लाई छुट्टै दलको रूपमा दर्ता नगर्ने आयोगले निर्णय गरेसँगै उनीहरुले एउटै चुनाव चिन्हमा निर्वाचन लड्नुपर्ने भएको छ ।
यस्तै आगमी निर्वाचनमा सहभागी हुनका लागि विभिन्न ३ राजनीतिक दलले दाबी गरेकै निर्वाचन चिन्ह दिने आयोगले निर्णय गरेको छ । राष्ट्रिय यथार्थवादी पार्टी, नेपालले मोटरसाईकल, सामाजिक लोकतान्त्रिक पार्टीले तीन ढुङगे अघिनो र त्रिमूल नेपालले ओदान निर्वाचन चिन्ह प्राप्त गरेका हुन् ।
ती दलले दल दर्ताको निवेदन पेश गर्दा माग त्यही निर्वाचन चिन्ह माग गरेकाले मागबमोजिम कै निर्वाचन चिन्ह प्रदान गर्ने र उक्त चिन्ह ति दलको निर्वाचन चिन्हको रूपमा रहने गरी अभिलेखीकरण गर्ने निर्णय आयोगले गरेको छ ।
यसैबीच निर्वाचन आयोगले अघिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ प्राप्त गरेको मत संख्याको आधारमा मतपत्रमा निर्वाचन चिन्ह राख्ने निर्णय पनि गरेको छ । दर्ता भएका राजनीतिक दलमध्ये निर्वाचन हुनुभन्दा तत्काल अघि कायम रहेको प्रतिनिधि र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलले त्यस्तो प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याको आधारमा राजनीतिक दल एवं उम्मेदवारको निर्वाचन चिन्ह मतपत्रमा समावेश गर्ने निर्णय भएको हो ।
तर, यस अघिको निर्वाचनमा प्रतिनिधित्व नगर्ने दलको हकमा प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रयोजनको लागि आयोगमा दल दर्ता भएको क्रम संख्याको आधारमा मतपत्रमा निर्वाचन चिन्ह समावेश गर्ने निर्णय भएको छ । यसरी निर्धारण गरिएका निर्वाचन चिन्ह नेपाल राजपत्रमा प्रकाशन गर्ने पनि आायोगले निर्णय गरेको छ ।