नुवाकोट: विदुर नगरपालिका-५ स्थित पिपलटारमा रहेको पिपलटार फुटबल क्लबको आयोजनामा अन्तर बिद्यालय “पिपलटार कप” फुटसल प्रतियोगिता आजदेखि शुरु भएको छ।
प्रतियोगिताको उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व शिक्षा मन्त्री अर्जुन नरसिंह केसीले खेलले अनुशासन र मर्यादामा रहन सिकाउने भएकाले खेल क्षेत्रको विकासको लागी राज्यले महत्वपुर्ण योजनाहरु ल्याउनुपर्ने बताउनुभएको छ ।
विभिन्न खेलप्रती युवा शक्तिको बढ्दो आकर्षण र हरेक मानिसको स्वास्थ्य जिवनयापनको लागी खेल महत्वपुर्ण भएकाले खेलक्षेत्र र युवा खेलाडिको विकासको लागी राज्यले महत्वपुर्ण योजना ल्याउनुपर्ने उहाँको भनाई रहेको छ ।
भदौ १० र ११ गते सञ्चालन हुने प्रतियोगितामा बिभिन्न विद्यालयका २० समुहले सहभागिता जनाएका छन् । छात्रतर्फ १४ समुह र छात्रातर्फ ६ समुहले सहभागिता जनाएको आयोजक पिपलटार फुटबल क्लबका अध्यक्ष उद्धब पनेरुले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा प्रथम हुने छात्र समुहलाई ७ हजार रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र छ भने द्धितिय स्थान हासिल गर्ने छात्र समुहलाई ४ हजार रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष पनेरुले जानकारी दिनुभएको छ ।
यसैगरी, प्रतियोगितामा प्रथम हुने छात्रा समुहलाई ५ हजार रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र र द्धितिय स्थान हासिल गर्ने छात्र समुहलाई ३ हजार रुपैया पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष पनेरुले जानकारी दिनुभएको छ ।
उद्धघाटन कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, बेलकोटगडी नगरपालिकाका उपमेयर शिवप्रसाद दाहाल,विदुर नगरपालिका वडा नम्बर ५ का अध्यक्ष लिलानाथ न्यौपाने, पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल,लगायतले खेलक्षेत्र र खेलाडिको विकासको लागी हरेक स्थानिय तहले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।