• २५ माघ २०७९, बुधबार

रसुवम जाने वैकल्पिक मार्ग बनुवा सडकको उत्तरगया गाउँपालिकाद्धारा मर्मत सुरू

रसुवा: वैकल्पिक मार्गलाई व्यवस्थित बनाई हल्का सवारी साधनको आवतजावतमा सहज बनाउन उत्तरगया गाउँपालिकाले बनुवा सडकको मर्मत कार्य सुरू गरेको छ । 

बनुवा घुम्तीबाट ठूलोबनुवा, हुर्रेडाँडा, चौकेटार हुँदै बोगटीटारसम्म करिब चार किमी दूरीको ग्रामीण सडक सञ्चालनको लागि दुई स्थानमा धमाधम ग्याबिन भर्ने काम अगाडि बढाइएको हो । ढाडे र गुहेखोलाको असहज स्थानमा  ग्याबिन पर्खाल लगाउने काम ८० प्रतिशत पूरा भइसकेकाले  ग्रामीण सडकको सतहमा ग्राबेल भर्न गाउँपालिकाको डोजर तथा टिपर तयारी अवस्थामा राखिएको उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बताउनुभयो ।
  
भारी वर्षाको असरले बनुवा घुम्तीको पासाङल्हामु अन्तर्राष्ट्रिय मार्ग क्षति भएपछि बिरामी बोक्ने एम्बुलेन्स एवं हल्का सवारी साधनलाई सहजरूपले आवतजावत गराउन साँघुरो ग्रामीण सडकको उपयोग गर्न लागिएको बताउँदै उत्तरगया वडा नं ५ का वडाध्यक्ष यमनाथ आचार्यले ग्याबिन भर्ने काम अब एकदुई दिनमै सम्पन्न हुने जानकारी दिनुभयो ।

अबका दिनमा बोगटीटार, चौकेटार, बनुवा, कर्मिडाँडा हुँदै धैवुङकोटको ग्रामीण कृषि मार्ग निरन्तर सञ्चालन गराउने गृहकार्य भइरहेको वडाध्यक्ष आचार्यले बताउनुभयो । हल्का सवारी साधनका लागि सञ्चालनमा ल्याइएको तारूके, बेल्चौर आमभञ्ज्याङ खण्डको ग्रामीण सडकले मात्र धान्न नसक्ने अवस्था आएपछि ठूलोबनुवा हुँदै चौकेटारतर्फको ग्रामीण सडक सञ्चालनको सुधारात्मक कार्य अगाडि बढेको हो ।
 
पासाङल्हामु मार्गको नालीमा बग्ने पानी व्यवस्थापन नगर्दा बनुवा घुम्ती क्षेत्रको प्रमुख सडकमा ठूलो भाग क्षति भएको र मौखिकरूपको ठेक्काबाट अगाडि बढेको पुनःनिर्माणका काम पनि कछुवाको तालमा मात्र भइरहेको स्थानीय बासिन्दा बताउँछन् ।





प्रतिक्रिया दिनुहोस्