काठमाडौं: प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा भएसँगै विभिन्न राजीनितिक दलहरूले उम्मेदवारहरू सिफारिस गरेका छन् । दलका मात्र होइन, मंसिर ४ को चुनावी प्रतिस्पर्धामा स्वतन्त्र रुपमा उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य छ ।
राजनीतिक दलहरूले कपितय क्षेत्रमा उम्मेद्वारको टुंगो लगाइसकेका छ । खासगरी सत्तारुढ गठबन्धन र विपक्षी दलका बरिष्ठ नेताहरू उम्मेदवार बन्ने लगभग निश्चित भएकाले काठमाडौं क्षेत्र नम्बर ५ को चर्चा चुलिएको छ ।
२०७४ को चुनावमा यस क्षेत्रबाट एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका थिए । एमालेका तर्फबाट उनी उम्मेदवार बन्ने निश्चित छ । यसअघि पोखरेलसँग पराजित भएका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनाउने देखिएको छ ।
यस क्षेत्रबाट युवा व्यवसायी तथा जाग्यो नेपालका अभियन्ता बालुवाटार निवासी विजय कँडेलले स्वतन्त्रतर्फबाट उम्मेदवारी घोषणा गरिसकेका छन् । यस क्षेत्रका मतदाता, व्यवसायी, पेशाकर्मी तथा समाजसेवीले आफूहरूको तर्फबाट स्वतन्त्र उम्मदेवार बन्न प्रस्ताव गरेपछि चुनावी मैदानमा उत्रने निर्णय गरेको कँडेल बताउँछन् ।
कँडेलले देशमा व्याप्त भ्रष्टाचार र विकृति अन्त्य गरी उपलब्ध साधन, स्रोत र प्रविधिको उच्चतम सदुपयोग गरि देश विकासका लागि समग्र युवाहरुको प्रतिनिधित्व गर्दै उम्मेदवारी घोषणा गरेको बताए ।
कँडेलले विभिन्न सामाजिक गतिविधि र व्यापार व्यवसायमा आफ्नो प्रभुत्व जमाएका छन्। कँडेलले हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन ।
त्यसका साथै, कँडेल काठमाडौंलाई धुलोरहित बनाउन सुरु गरिएको ‘जाग्यो नेपाल’ अभियानका नेतृत्वकर्ता हुन् ।
‘जाग्यो नेपाल’ले काठमाडौँका स्थानीयहरुको सहयोगमा प्रत्येक साताको शनिबार तथा सार्वजनिक बिदाका दिन बिहानको समय सदुपयोग गरी विभिन्न सार्वजनिक स्थान सफा गर्ने गरेको संयोजक विजय कँडेल बताउँछन् ।
राजधानीलाई धूलोरहित बनाउने अभियानसहित जाग्यो नेपालले करिब ५ वर्षअघि सफाइ अभियान थालेको हो ।
यसअघि कोरोना भाइरसलगायत कारण सफाई अभियान नियमित गर्न नसकिएको जनाउँदै कँडेलले आगामी दिनमा प्रत्येक शनिबार विभिन्न स्थान सफा गरिने बताएका छन् ।
विजय कँडेलको यो अभियानले सरसफाईको महवप्रति आम मानिसको चेतना बढेको स्थानियको भनाइ छ ।
प्रत्येक शनिबार सहरी सडक र पेटीका फोहोर सफा गर्न फेसबुकमार्फत् संयोजन गरेर अभियान सुरु गरिएको हो । हाल यो अभियानमा जोडिएकामध्ये करिब दुई सय जना राजधानीमा मात्र सक्रिय छन् ।
सडकका नाला खोल्ने, खाल्डा पुर्ने र यत्रतत्र छरिएका फोहोर उठाउने काम गर्दै गरेको जाग्यो नेपालको समुहलाई देखेपछि स्थानियहरुले पनि हातमा हात मिलाएर सहयोग गर्नै गरेको अभियन्ता कँडेल बताउँछन् ।
काठमाडौंका फोहोर र सार्वजनिक स्थानहरु सफा गर्दै स्थानीयलाई जागरुक बनाउने अभियानको उद्देश्य रहेको छ ।
यसरी जाग्यो नेपाल अभियानबाट काठमाडौंका जनता माझ परिचित कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेदवारी दिएसँगै ठूला पार्टीका प्रभावशाली ठानिएका नेताहरुमा चिन्ता थपिएको छ । उनको उम्मेदवारी घोषणासँगै काठमाडौं–५ को चुनावी प्रतिस्पर्धा झन रोचक मोडमा पुग्ने देखिएको छ ।
२०७४ को निर्वाचनमा काठमाडौं क्षेत्र नं. ५ मा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भारी मतले विजयी भएका थिए । उनले कांग्रेस नेता प्रकाशशरण महतलाई ९ हजार ८ सय ६० मतान्तरले हराएका थिए ।
पोखरेलले २३ हजार २९ मत ल्याउँदा महतले १३ हजार १६९ मत प्राप्त गरेका थिए । यही क्षेत्रबाट विवेकशील साझा पार्टीका संस्थापक अध्यक्ष उज्जवल थापाले पनि प्रतिस्पर्धा गरेका थिए । उनले ६ हजार ८ सय ५३ मत ल्याएका थिए । तर पछिल्लो समय कांग्रेस र एमालेभित्र देखिएको आन्तिरिक कलहले कँडेललाई फाइदा पुग्ने देखिएको छ । यो क्षेत्रमा ०६४ र ०७० को संविधानसभा चुनावमा भने कांग्रेस विजयी भएको थियो । दुवैपटक कांग्रेसका नरहरि आचार्यले चुनाव जितेका थिए ।