काठमाडौं : विजय कँडेल एक सफल युवा उद्यमी हुन् । काठमाडौंको तारकेश्वरमा आधुनिक कृषि फार्म, चपलीमा हाईजेनिक फुड तथा मिट सेन्टर सञ्चालन गर्दै आएका कँडेल शैक्षिक परामर्शको क्षेत्रमा समेत क्रियाशिल छन् ।
अष्ट्रेलिया गएर १३ बर्ष अघि नेपाल फर्केका कँडेलले आफूले अष्ट्रेलियामा सिकेको सिपलाई प्रयोग गरि सानो लगानीमा काठमाडौंमा सञ्चालन गरेको व्यवसायलाई अहिले उपत्यकाबाहिर पनि विस्तार गरेका छन् ।
उनले विदेशबाट फर्किएपछि हाइजेनिक मिट सप नामक व्यवसाय सञ्चालन गरेका कँडेलले अर्गानिक कृषि व्यवसायका साथै काठमाडौंको डिल्लीबजारमा ड्रिम सर्च नामक शैक्षिक परामर्श सम्बन्धी व्यवसाय समेत सञ्चालन गरेका छन्।
सन् २०१२ मा स्थापित शैक्षिक परामर्श केन्द्रमार्फत् अष्ट्रेलिया, अमेरिका, क्यानडा, जापान तथा युरोपका विभिन्न देशमा सयौं विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि पुगिसकेका छन् ।
आफू पनि विदेश गएर अध्ययनसँगै सिप सिकेर नेपालमै व्यवसाय सञ्चालन गरेको बताउँछन् कँडेल । ‘अध्ययन गर्न र सीप सिक्न विदेश जानुपर्छ । तर उतै भासिने होइन, काम गर्न देशमै फर्कन पर्छ,’ कँन्डेल भन्छन् ।
आफ्नो कार्यालयमा आउने विद्यार्थीलाई पनि कँडेल अध्ययन सकेर देशमा फर्कन सल्लाह दिने गर्छन् । परामर्श दिनुका अलावा कँडेलले विद्यार्थीलाई भाषा कक्षा पनि अध्यापन गर्ने गर्छन् ।
कँडेलकै परामर्श केन्द्रबाट जापान गएर नेपाल फर्केका एक विद्यार्थी हाल उनकै व्यवसायमा काम गर्छन् ।
ड्रिम सर्च इन्टरनेशनल कन्सलटेन्सीबाट जापान पुगेर अध्ययनपछि फर्केका अन्जन ढकाल पछिल्लो समय कँडेलकै व्यवसायिक साझेदार समेत हुन् । उनले हाल समाधान सेवा नेपाल नामक कन्स्ट्रक्सनसम्बन्धी कम्पनीको नेतृत्व सम्हालेका छन् ।
‘म करिब १० बर्ष अघि कँडेलकै शैक्षिक परामर्श केन्द्रबाट जापान गएको थिएँ। सुरुमा म नेपाल नफर्कने सोचमा थिएँ तर विजय सरबाट प्रभावित भएर नै नेपाल फर्केर व्यवसायमा समेत संलग्न छु,’ ७ वर्ष जापान बसेर नेपाल फर्केका ढकालले भने ।
कँडेलले हाल सम्म सयभन्दा बढि विद्यार्थीलाई उच्च शिक्षाको लागि विदेश पठाएका छन्। कँडेलले विदेश पढ्न गएका विद्यार्थीहरुको सहजताका लागि निरन्तर सम्पर्कमा रहिरहने गरेको विद्यार्थीहरु बताउँछन्।
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालमा समेत आवद्ध कँडेल भने पछिल्लो समय चुनावी मैदान उत्रने तयारीमा छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कँडेलले स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
व्यावसायिक जीवनमा सफल भएको बताउँदै कँडेल अबका दिनमा देश र जनताको सेवा गर्न राजनीतिमा होमिएको बताउँछन्।
‘राजनीति र समाजसेवाका लागि त पैसा नभइ हुँदैन । व्यवसायिक रुपमा स्थापित भएकाले मलाई घर चलाउन समस्या छैन,’ कँडेलको भनाइ छ ।
राजनीति र समाजसेवामा लाग्न चाहनेहरु जनतासँग प्रत्यक्ष सम्पर्कमा बस्नु जरुरी हुने कँडेलको ठम्याइ छ। आफ्नो व्यवसायले धेरैलाई रोजगारी दिएकाले राजनीतिक क्षेत्रमा छवि राम्रो बनेको कँडेलको अनुभव छ।