हेटौंडा : बागमती प्रदेश सरकारले फेरि दुईवटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दुईवटा अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको हो। संसद अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले यसअघि पनि दुईवटा अध्यादेश जारी गरिसकेको छ।
प्रदेश सरकारको प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकारले प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय गरेको जानकारी दिए।
प्रतिपक्षीसँगको दूरीको कारण संसद स्थगित गरेको सरकारले अध्यादेशबाटै काम चलाउन थालेको छ। गठबन्धन नेतृत्वको वर्तमान सरकारले ५ महिनामा ७ वटा अध्यादेश जारी गरिसकेको छ भने थप दुईवटा अध्यादेश जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ।
मन्त्री खनालका अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले तामाङ र नेवारी भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने पनि निर्णय गरेको छ। गत आव ०७८/७९ को विनियोजित बजेटबाट भएका कामको भुक्तानी सम्बन्धमा सर्भर डाउन भएर रोकिएको भुक्तानी प्रक्रिया पुर्याएर गर्ने पनि निर्णय भएको छ।
मन्त्री खनालका अनुसार बैठकले प्रदेश औद्योगिक नियमावली स्वीकृत गर्ने पनि निर्णय गरेको छ।