काठमाडौँः काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी दिएका विजय कँडेलले टोखाको नेवाः सभ्यताले नेपालको परिचय दिने भएकोले यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।
उनले ‘नेवाः सभ्यताभित्र परिचित यहाँको प्रत्येक वर्ष हुने बिस्केट जात्रा, कृष्ण जन्माष्टमी, गाई जात्रा, लाखे नाच, इन्द्र जात्रा, नवरथ र चतुर्मास भजन जस्ता हरेक सांस्कृतिक चाल चलनले सहरलाई जीवन्त देखाएको बताए । ‘टोखाको मूर्त अमूर्त सांस्कृतिक सम्पदासँग सम्बन्धित पर्वको जीवन्तता विश्वव्यापी रुपमा फैलाउनुपर्छ । ’ उनले भने, ‘टोखाको प्राचिन नेवार संस्कृतिको संरक्षण, सम्बर्द्धन र राष्ट्रियकरण गरिने छ ।’
टोखाको संस्कृति बचाउनु सरकारको दायित्व भएको बताउने कँडेलले वडा नम्बर २ मा रहेको चण्डेश्वरी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने र साँस्कृतिक नगर टोखालाई पर्यटकिय क्षेत्रका रुपमा विश्वव्यापी प्रचारप्रसार गर्ने बताएका छन्।
पहिले टोखामा धेरै फाँट थिए, फाँटमा उखु खेती गरिन्थ्यो, उखुबाट सख्खर बनाइन्थ्यो, सख्खरबाट चाकु। टोखामा चाकु त अहिले पनि बन्छ तर उखु खेती भने हराउँदै गएको छ । हालको चाकु अन्यत्रको सख्खर ल्याएर बनाइन्छ । हाल टोखामा २० परिवारले मात्र चाकु बनाउँछन् ।
कँडेलले मंसिर ४ मा हुने चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरेका छन्।
युवा व्यवसायी तथा सामाजिक अभियन्ता कँडेल पछिल्लो समय चुनावी अभियान अन्तर्गत घरदैलो कार्यक्रम तथा जनतासँगको प्रत्यक्ष भेटघाटमा व्यस्त छन्।