• ९ माघ २०८१, बुधबार

लौरो चुनाव चिह्न खारेजीको माग राख्दै आयोगमा उजुरी

काठमाडौं: हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिह्नको सम्बन्धमा प्रष्ट पारिदिन आइतबार निर्वाचन आयोगमा उजुरी परेको छ।

काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेद्वार विजय कँडेल र क्षेत्र नम्बर ९ का स्वतन्त्र उमेद्वार सुनिल रिजालद्वयले आइतबार निर्वाचन आयोग पुगेर हाम्रो नेपाल पार्टीको लौरो चिन्ह विरुद्ध उजुरी दर्ता गरेका छन्।

हाम्रा नेपाल पार्टीले लौरो चुनाव चिह्न लिएर आफूहरु स्वतन्त्र भएको र जनताले आफूहरुलाई नै स्वतन्त्रको रुपमा भोट हाल्नुपर्ने दाबी गर्दै आएका छन्।

हाम्रो नेपाल पार्टीका नेताहरुले आफूहरु स्वतन्त्र भएको दाबी गरिरहँदा काठमाडौंका स्वतन्त्र उमेदवारहरु रिजाल र कँडेलले हाम्रो नेपाल पार्टीको लौरो चुनाव चिन्ह सम्बन्धमा प्रष्ट पारिदिन निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन् ।

स्थानीय चुनावमा निर्वाचन आयोगले लौरो चुनाव चिह्न केहि उम्मेदवारहरुलाई प्रदान गरेकोमा हाल सोहि चुनाव चिन्हलाई हाम्रो नेपाल पार्टीले स्वतन्त्रहरुको साझा चुनाव चिन्ह लौरो भनेर विभिन्न सञ्चार माध्यम तथा सामाजिक संजालहरुमा प्रचारप्रसार गरिरहेका छन्।

लौरो चुनाव चिह्न निर्वाचन आयोगले ‘हाम्रो नेपाली पार्टी’ लाई मिति २०७९–०३–२९ मा (सि.नं. ११४, दर्ता नं. १८८) अनन्तराज घिमिरेको अध्यक्षतामा दल दर्ता गर्दा प्रदान गरेको थियो।

दलको रुपमा दर्ता भई सके पछि स्वतन्त्र नरहने भएकाले हाम्रो नेपाल पार्टीले आफूलाई स्वतन्त्र भनेर दावी गर्नु कानुन विपरीत क्रियाकलाप भएको काठमाडौं क्षेत्र नम्बर–५ का स्वतन्त्र उमेदवार विजय कँडेल बताउँछन्।

‘पार्टीको नाममा दर्ता भई सकेको चिन्ह कसरी स्वतन्त्र रह्यो ?, कँडेलले भने, ‘निर्वाचन आयोगले पार्टी दर्ता गर्दा नै यो स्वतन्त्रहरुको साझा चुनाव चिह्न भनेर दर्ता गरेको हो कि हाम्रो नेपाल पार्टी भनेर दर्ता गरेको हो सो सम्बन्धमा प्रष्ट परिदिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।’





प्रतिक्रिया दिनुहोस्