काठमाडौं : काठमाडौं उपत्यका प्रहरीले घर, कोठा छोडेर चाडपर्वका लागि गाउँ जान लागेकोबारे सामाजिक सञ्जालमा नलेख्न आग्रह गरेकोे छ ।
प्रहरीले दशैँ तिहार र छठलाई लक्षित गरेर तयार गरेको विशेष सुरक्षा योजना आजदेखि लागू भएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता दिनेशराज मैनालीले बताएका छन्। उनका अनुसार हरेक नागरिकले आफ्नो घर, भाडामा वा काममा बस्ने व्यक्तिको नाम, थर, स्थायी वतन र फोटोसहितको विवरण राख्नुपर्ने हुन्छ । यस्ता विवरण राख्न सबैलाई अनुरोध गरेको काठमाण्डौका प्रवक्ता मैनालीले बताए ।
प्रहरीले आफ्नो घर र टोलमा शङ्कास्पद व्यक्तिको गतिविधि देखिए तुरुन्त खबर गर्न पनि अनुरोध गरेको छ । घरको गेट, ढोकाको चुकल, कब्जा राम्रोसँग बन्द गर्न, लामो समयका लागि घर बाहिर जानुपरेमा विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई जानकारी गर्न, सकेसम्म नगद, बहुमूल्य सामान र गरगहनाहरु घरमा नराख्न र दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न समेत प्रहरीले अनुरोध गरेको छ।