• २३ आश्विन २०८१, बुधबार

बाबुरामजी र म एक अर्काका पुरक हौँ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन्। 

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको सहयात्री समेत रहेका बाबुरामसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन्। 

उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए। 

‘गत साल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो। त्यसको प्रतिवाद गरेका थियौँ। अब संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ। निर्वाचन सफल हुनु नै ठुलो कुरा हो। निर्वाचन सफल हुँदा संविधान कार्यान्वयन हुन्छ’ उनले भने, ‘कुन पार्टीले कति सिट जित्छ त्यसले ठुलो अर्थ राख्दैन।’

संविधान घोषणापछिको आफू र बाबुरामले अलग अलग प्रयोग गरेको भएपनि सफल नभएपछि फेरि एकै ठाउँमा जुटेको बताए। 

‘बाबुरामजी र मैले बेग्ला बेग्लै प्रयास गर्यौं। उहाँ आफ्नो पार्टी गठनमा लाग्नुभयो। म एमालेसँग एकता गरेर नयाँ प्रयोग गरेँ। दुवैको उद्देश्य पुरा भएन’ उनले भने, ‘हामी अलग अलग प्रयोग गर्न हिँड्दा माओवादीले ल्याएको उपलब्धि धरापमा पर्यो। त्यसैले हामी दुवै पक्षले गम्भीर समीक्षा नगरेर देश अराजकतातिर जाने खतरा महशुस गरेका छौँ। हामी अलग हुँदा प्रतिगमनले टाउको उठाउन खोज्यो।’ 

आफूहरु अलग भएपछि नेपाली क्रान्तिलाई सफल बनाउन नसक्ने निष्कर्ष निकालेको समेत उनले बताए। प्रचण्ड र बाबुरामको नाम जनताको ठुलो बलिदानीबाट आएको उनको दाबी छ।

‘हामीले केही महिनादेखि समिक्षा गर्यौँ। अन्य साथीहरूबाट पनि भयो। लगातार नै लागिराख्नुभयो। तर, हामी गहिरो गरी युगलाई नै क्रान्तिको आधार दिनेगरी एकता हुन सक्छ कि सक्दैन भनेर छलफल गरेका थियौँ। जनयुद्धको तयारी गर्ने बेलाको स्मरण परेको गर्यौँ’  उनको भनाइ छ। 

१० बर्षको जनयुद्धले ठुलो उथलपुथल ल्याएको दाबी गरे। समाजवादको लागि नयाँ खालको जनयुद्ध आवश्यक ठानेका बताए। उनले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ खालको जनयुद्ध गर्ने संकल्प गरेपछि एकैठाउँमा केन्द्रित भएको उनको भनाइ छ। 

‘चुनावमा पनि एउटै चिह्नबाट जाने निर्णय गरिसकेका छौँ। यो चुनावको लागि मात्रै होइन। देशलाई फेरि एकपटक समाजवादको नयाँ मोडेल हामीले मात्रै दिन सक्छौँ। परिवर्तनको बहावको टिम भएकाले’, उनले भने, ‘हामीले हिजोपनि एक अर्काको पुरक भएर आन्दोलन। यहाँसम्म ल्याएको हो। तर, बाबुरामजी र मेरो स्वभाव खासै मिल्दैन।’ 

आफुहरुकै नेतृत्वमा मुलुकले समाजवादको नयाँ मोडल दिने दाबी प्रचण्डले गरे। पहिलेको कुरालाई बिर्सेर ठुलो उर्जासहित अघि बढ्नुपर्नेमा उनको जोड छ। नेपालमा समाजवादको मोडेल तयार पार्न लागिपरेको कारणले सहयोग गर्न उनले सबैलाई अपिल गरे।





प्रतिक्रिया दिनुहोस्