विराटनगर : नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्।
पार्टी अध्यक्षसमक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।
‘नेकपा एमाले मोरङकोतर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने कार्यप्रति मेरो पूर्ण असहमति रहेको व्यहोरा जानकारी गराउँदछु,’ उनले सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ, ‘पार्टी कमिटीहरु कार्यार्थ हुन्, केवल बोधार्थ वा मानार्थ मात्र होइनन्। पार्टीले गर्ने निर्णयहरु वा सूचनाहरूमा पदीय जिम्मेवारी अनुसार सचिवको संलग्नता अनिवार्य हुनुपर्दछ र हुनुपर्ने हो। तर, अहिलेको उम्मेदवारको पजनी र प्रचार पार्टीको संस्थागत जानकारी र निर्णय विपरीत रहेको व्यहोरा अनुरोध छ। यसर्थ यस्तो गैर राजनीतिक कार्यको किनाराको साक्षी भएर बस्न नैतिक रुपमा नमिल्ने र आम पार्टी कार्यकर्ता र पार्टी सदस्यहरुको निष्ठा र भावना विपरीत हुने भएकोले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिव पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ।’
उनी मोरङको क्षेत्र नम्बर १ को क बाट उम्मेदवार सिफारिस भएका थिए। यसैबीच एमालेले मोरङ क्षेत्र नम्बर १ मा घनश्याम खतिवडा, प्रदेश (क) मा उमाकान्त गौतम र (ख) मा खड्ग बस्नेत छन्। क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ ऋषिकेश पोखरेलले टिकट पाएका छन् भने प्रदेश (क) मा डिबी कार्की र प्रदेश (ख) मा लीलाबल्लभ अधिकारी उम्मेदवार बन्ने भएका छन्।
क्षेत्र नम्बर ३ बाट भानुभक्त ढकालले टिकट पाएका छन्। प्रदेश (क) मा किशोर राई र (ख) मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्। क्षेत्र नम्बर ४ बाट विनोद ढकाललाई एमालेले टिकट दिएको छ। प्रदेश तर्फ (क) मा जयप्रकाश चौधरीले टिकट पाएका छन्।
मोरङ क्षेत्र नम्बर ५ को (क) मा एमालेका सन्तोष साहले टिकट पाएका छन्। मोरङ ६ बाट लालबाबु पण्डितले टिकट पाएका छन्। प्रदेशतर्फ (क) बाट रीता न्यौपानेले टिकट पाएकी छिन्। जसपासँग गठबन्धन गरेको एमालेले मोरङको क्षेत्र नम्बर ५ जसपालाई छाडेको छ।
यस्तै क्षेत्र नम्बर ५ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र ४ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र र क्षेत्र नम्बर ६ को प्रदेश तर्फको (ख) निर्वाचन क्षेत्र जसपालाई छाडेको छ।