विदुर- नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले पत्रकार दिनेश आचार्यलाई दीर्घ सेवा सम्मान प्रदान गर्ने भएको छ । पत्रकार महासंघको ११ औं बार्षिक साधारण सभामा आचार्यलाई सम्मान गरिने भएको हो । लामो समयदेखि पत्रकारितामा सक्रिय रहने सदस्यलाई वर्षेनी नुवाकोट शाखाले सम्मान गर्दै आएको छ । आचार्य हाल शेयर बजार साप्ताहिकको सम्पादक छन् ।
पत्रकार महासंघले मंसीर २६ गते सोमवार ११ औं बार्षिक साधारण सभाको आयोजना गरेको छ । उक्त अवसरमा नुवाकोटका तीन जना पत्रकारहरूलाई पुरस्कृत गरिने भएको छ । पुरस्कृत हुने पत्रकारहरूमा कान्तिपुर टेलिभिजनका संवाददाता राजकृष्ण श्रेष्ठ, नुवाकोट एफएमका स्टेशन म्यानेजर श्रीराम अधिकारी र नयाँ पत्रिका दैनिकका संवाददाता संगीता पनेरु छन् ।
श्रेष्ठलाई स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कार–२०७९, अधिकारीलाई स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कार–२०७९ र पनेरुलाई महिला पत्रकारिता पुरस्कार–२०७९ प्रदान गरिने सचिव जगदीश खनालले जानकारी दिए । पुरस्कराको राशी एधार हजार १११ रुपैयाँ रहेको छ ।
पत्रकार महासंघले यसअघि दीर्घ सेवा सम्मानबाट २०७७ सालमा त्रिशुली प्रबाह साप्ताहिकका सम्पादक शरण उत्सुक सापकोटा, २०७६ मा सुन्दरादेवी सन्देश साप्ताहिकका कार्यकारी सम्पादक किरणप्रसाद अधिकारी, २०७५ सालमा नुवाकोट जागरण साप्ताहिकका सम्पादक शिव देवकोटालाई सम्मानित गरेको थियो ।
स्वर्गिय मोहनविक्रमध्वज जोशी स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि २०७७ सालमा अर्थपथ डटकमका सम्पादक विष्णुराज जम्कट्टेल, २०७६ सालमा त्रिशुली खबर साप्ताहिकका सम्पादक नवदीप श्रेष्ठ, २०७५ सालमा अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता देबचन्द्र भट्टलाई पुरस्कृत गरेको थियो ।
स्वर्गिय रामकृष्ण प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट २०७७ मा सगरमाथा पोष्ट डटकमका सम्पादक रबिनप्रसाद थपलिया, २०७६ सालमा गोरखापत्र दैनिकका समाचारदाता रामहरि गजुरेल, २०७५ सालमा राजधानी दैनिकका संवाददाता भोलाराज पौडेललाई पुरस्कृत गरेको थियो ।
महिला पत्रकारिता पुरस्कारबाट २०७७ सालमा बिबिसी नेपाली सेवाका संवाददाता शक्तिमाया तामाङ, २०७६ सालमा सगरमाथा टेलिभिजनका समाचार वाचिका बसुधा केसी, २०७५ सालमा रेडियो जालपाका समाचार प्रमुख भगवती लामालाई पुरस्कृत गरेको थियो ।
२०७६ सालमा सञ्चार उद्यमी सम्मानबाट नयाँ रुपरेखा साप्ताहिकका संस्थापक प्रकाशक/सम्पादक माधवप्रसाद खनाललाई सम्मान गरिएको थियो ।
महामारी कोभिड–१९ को समयमा नागरिकहरूलाई सही सूचना प्रदान गरेर सुरक्षित रहनका लागि सहयोग गर्ने पत्रकार र सञ्चार गृहलाई समेत पत्रकार महासंघ नुवाकोट शाखाले २०७७ सालमा सम्मान गरेको थियो । नुवाकोट न्युज डटकम, रेडियो जालपा, रेडियो त्रिशुली, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जिवनी, गज्जवको रेडियो, उत्तरगया दैनिक, त्रिशुली खबर साप्ताहिक, नुवाोट एक्सप्रेस डटकम, विदुर खबर डटकम, नुवाकोट पुकार साप्ताहिक र त्रिशुली पोष्ट डटकम थिए ।
सोही वर्ष कोडिभ–१९ सम्मान पाउने पत्रकारमा त्रिशुली प्रबाह साप्ताहिकका शरण उत्सुक सापकोटा, नुवाकोट एफएमका श्रीराम अधिकारी, डबली खबर डटकमका सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकका रामहरि गजुरेल, रेडियो नेपालका भोलाराज पौडेल, एभिन्युट टेलिभिजनका श्रीराम नेपाल, राससका जमुना गजुरेल र नुवाकोट पुकारका सुकदेव दाहाल थिए ।