पुस १४ नुवाकोट बेत्रावती/ सदाको वर्षमा झैं यसपालि पनि नुवाकोट-रसुवा जिल्लाको सिमाना बेत्रावतीबजारको ढाँडेबगरमा माघेसङ्क्रान्तिका दिन गोरुजुधाइ प्रदर्शनी हुने भएको छ ।
अघिल्लो दिन वृद्धाहरूका लागि घ्याम्पोफुटाइ, युवाहरूलाई खुला व्याडमिन्टन प्रतियोगिता, बेलुकी विशेष सांस्कृतिक कार्यक्रम हुने गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष दिपु डङ्गोलले जानकारी दिए। गोरुजुधाइका लागि विभिन्न उपसमितिसमेत छनोट गरी काम बाँडफाँडसमेत गरिएको क्लबका सचिव ईश्वर थापा आइटमले बताए ।
गोरु छनोटका लागि पुस २५ गतेभित्र किसानले आफ्नो गोरु दर्ता गर्नुपर्नेछ । पछिल्लो समय बेत्रावतीको गोरुजुधाइ प्रदर्शनी व्यवस्थित हुँदै गइरहेको छ ।
यसलाई अझै सुव्यवस्थापनमा ध्यान पुऱ्याउन सबै व्यवसायी, सङ्घ-संस्था, समाजसेवी तथा बुद्धिजीवीसँग राय- सुझाव तथा आर्थिक सङ्कलनमा पहलका लागि आयोजकले आग्रहसमेत गरेको छ ।
परापूर्वकालदेखि नै बेत्रावतीका स्थानीयले माघेसङ्क्रान्तिका दिन बेत्रावतीका सम्राटा, सत्री, जुडी, दहका खेतका फाँटमा किसानले मिलेर आ- आफ्नो गोरु जुधाउने प्रचलन थियो ।
‘जिले किसानले हार्ने गोरु नै लाने गरिन्थ्यो रे, बेत्रावतीका १०१ वर्षका वृद्ध बुद्धिमान डङ्गोलले त्रिशूली प्रवाह साप्ताहिकलाई बताए। विगत ०६० सालदेखि गोसाइँकुण्ड युवा क्लबले स्थानीयको सहयोगमा व्यवस्थित तरिकाले गोरु जुधाउँदै आएको छ
साभार : त्रिशुली प्रवाह