• ६ चैत्र २०८१, बिहीबार

दाङ्मै स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा प्राप्त

वेलकोटगढी नगरपालिका वडा नम्बर १३ मा दाङ्मै स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ ।
जग्गा अभावको कारण व्यक्तिको घरबाट संचालन हुदै आएको स्वास्थ्य चौकीको भवन निर्माण गर्नलाई राजेन्द्रकुमार शर्माले एक रोपनी ६ आना जग्गा दान गर्नुभएको हो । वेलकोटगढी नगरपालिका वडा नम्बर १३ घर भई विदुर नगरपालिका वडा नम्बर ४ मा बस्दै आइरहनुभएका ७३ वर्षिय शर्माले जग्गा दान गर्नुभएको वडा अध्यक्ष नवराज पाण्डेले बताउनुभएको छ ।
नेपाल सरकारको निर्णय अनुसार कित्ताकाट रोकिएको कारण उक्त जग्गामा स्वास्थ्य चौकी भवन निर्माणका लागि प्राप्त जग्गा राजिनामा गरी रजिष्ट्रे्शन पास भने गरिएको छैन । कित्ता काट खुले पछि मालपोत कार्यलय नुवाकोट मार्फत उक्त जग्गा स्वास्थ्यचौकीको नाममा पास गराउने गरी जग्गादाता शर्माले मन्जुरीनामा दिनुभएको छ ।
चैत्र १ देखि नै उक्त जग्गा स्वास्थ्य चौकीले भोगचल गर्न पाउने र भवन निर्माण गर्दा कुनै पनि बाधा अड्चन नगर्ने समेत मन्जुरीनामा मार्फत उहाँले प्रतिवद्धता जनाउनुभएको छ । कित्ता काट खुलेपछि स्वास्थ्यचौकीको नाममा जग्गा पास नगरिदिएमा र भवन निर्माणको क्रममा बाधा उत्पन्न गराएमा चैत्र १ गते (वुधवार) गरिएको मन्जुरीनामाको आधारमा सम्वन्धीत निकाय मार्फत आवस्यक कारवाही समेत स्वीकार्य हुने उहाँको भनाई छ ।
वागमती प्रदेशबाट २० लाख रुपैयाँ प्राप्त भए पनि जग्गा प्राप्त नभएको कारण स्वास्थ्य चौकी भवन निर्माणको कामलाई अगाडी बढाउन समस्या भएको थियो । जग्गा प्राप्तीसँगै उपभोक्ता समिति मार्फत भवन निर्माणको काम थालनी गरिने वडा अध्यक्ष नवराज पाण्डेले बताउनुभएको छ । उहाँको अनसार रामकृष्ण रैलाको अध्यक्षतामा दाङ्मै स्वास्थ्य चौकी भवन निर्माण उपभोक्ता समिति बनाइसकिएको छ ।
स्थानीय स्तरबाटै गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउँने अठोटको साथ अघि बढिरहेको भन्दै वडा अध्यक्ष पाण्डेले स्वास्थ्य चौकी भवनको लागि जग्गा प्राप्त भएसँगै आफ्नो प्रतिद्धता पूरा हुने चरणमा रहेको बताउनुभएको छ ।





प्रतिक्रिया दिनुहोस्