नुवाकोटको म्यागङ गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप नगद सहित पुरस्कृत गर्ने भएको छ ।
गाउँ कार्यपालिकाको गएको फागुन १८ गतेको वैठकले यस्तो निर्णय गरेको शिक्षा अधिकृत शेर सिंह रावतले जानकारी दिनुभएको छ । गाउँपालिका अन्तर्गतका विद्यालयहरुबाट शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई प्रति विद्यार्थी ५० हजार रुपैयाँ सहित पुरस्कार गर्ने निर्णय गरिएको शिक्षा अधिकृत रावतले जानकारी दिनुभएको छ ।
यस्तै ३ दशमलव ६ देखि ४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीलाई २० हजार रुपैयाँ नगद सहित पुरस्कार प्रदान गर्ने निर्णय गाउँकार्य पालिकाकाले गरेको उहाँले बताउनुभएको छ । विशेष गरी विद्यार्थीहरु बिच पढाईमा प्रतिष्पर्धाको वातावरण सिर्जना गराउन र विद्यालयको समेत शैक्षिक स्थिति सुधार गर्न यस प्रोत्साहन कार्यक्रमले सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै उत्कृष्ट नतिजा ल्याउने विद्यालयहरुलाई समेत प्रोत्साहन गर्ने कार्यक्रम रहेको शिक्षा अधिकृत रावतले जानकारी दिनुभएको छ ।
यस शैक्षिक सत्रमा म्यागङ गाउँपालिकाको विभिन्न ७ वटा विद्यालयबाट २ सय २९ जना माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुदैछन् । यहि चैत १७ गतेदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ सञ्चालन गर्नको लागि राष्ट्रिय परीक्षा बोर्डले तयारीलाई तिब्रता दिइरहेको छ । परिक्षा चैत १७ गतेदेखि चैत २९ गतेसम्म सञ्चालन गर्ने कार्यतालिका रहेको छ ।