नुवाकोटको दुई क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेतृत्व गरेको प्यानल स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा निर्वाचित भएको छ । नुवाकोट आदर्श बहुमुखी क्याम्पस बट्टारमा र त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा आइतवार निर्वाचन भएको थियो । यी दुई वटै क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले संयुक्त प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा उत्रिएका थिए ।
नुवाकोेट आदर्श बहुमुखी क्याम्पसमा संयुक्त प्यानल, अनेरास्ववियु, स्वतन्त्र समूह र अखिल क्रान्तिकारी (बिप्लब) गरी ४ समूह बिच चुनावी प्रतिष्पर्धा भएको थियो । जम्मा १ हजार १ सय ४३ मतदाता रहेको नुवाकोेट आदर्श बहुमुखी क्याम्पसमा आइतवार ७ सय ४२ विद्यार्थीले मतदान गरेका थिए । सोमवार विहान सम्पन्न मत परिणाम अनुसार संयुक्त प्यानलका सबै उम्मेदवारहरु विजयी भएका छन् । सभापतीमा रविन दहाल, सचिवमा राजेन्द्र पनेरु र कोषाध्यक्षमा मनोज पौडेल विजयी भएका हुन् । दाहालले ३ सय ४१, पनेरुले ४ सय ३० र पौडेलले ३ सय ४० मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकारी सरोज बोगटीले जानकारी दिनुभएको छ ।
यस्तै सदस्यहरुमा ३ सय ७१ मत सहित अश्विन रिमाल, ३ सय ६३ मत सहित जनक भट्ट, ३ सय ४७ मत सहित सन्तोष पन्त, ३ सय ३४ मत सहित संचिता रिमाल, ३ सय २७ मत सहित सुप्रिया पौडेल, ३ सय २५ मत सहित अस्मिता पौडेल र ३ सय ११ मत सहित प्रदिप ढुंगाना विजयी भएको मूख्य निर्वाचन अधिकृत बोगटीले जानकारी दिनुभएको छ ।
यता त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसको सभापतीमा किरण मंग्राती, सचिवमा रिसाल तामाङ र कोषाध्यक्षमा उर्मिला तामाङ विजयी भएका छन् । सभापती मंग्रातीले १ सय ४७, सचिव तामाङले १ सय ६३ र कोषाध्यक्ष तामाङले १ सय ५१ मत प्राप्त गरी विजयी भएका हुन् । आइतवार राती नै सम्पन्न मतगणना अनुसार सदस्यहरुमा शान्तबहादुर तामाङले १ सय ५४, अशोक अधिकारीले १ सय ५०, सजना खातीले १ सय ४२, सन्तोषी सुर्खेतीले १ सय ४० र तुलषा अधिकारीले १ सय २३ मत प्राप्त गरी विजयी भएका हुन् ।
त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा नेविसंघ, अखिल क्रान्तिकारी अनेरास्ववियूको संयुक्त प्यानल र अनेरास्ववियु र अखिल क्रान्तिकारी (बिप्लब) को संयुक्त प्यानल गरी दुई समूह बिच चुनावी प्रतिष्पर्धा भएको थियो । यस क्याम्पसमा ३ सय १२ मतदाता रहेकोमा २ सय ३३ जना विद्यार्थीले मतदान गरेका थिए ।