विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले सुनचाँदी व्यवसायलाई उपभोक्ताको नजरमा विश्वासिलो र भरपर्दो बनाउँन आग्रह गर्नुभएको छ ।
नुवाकोट सुनचाँदी व्यवसायी संघको नवौँ र दशौँ वार्षिक साधरण सभालाई संवोधन गर्दै उहाँले सुनचाँदीका गरगहनामा मिसावट हुने गरेको गुनासो आउँन नदिन यस्तो आग्रह गर्नुभएको हो । अमर्यादित रुपले व्यवसाय सन्चालन गर्नेलाई दण्ड सजायको व्यवस्था रहेको भन्दै नगर प्रमुख श्रेष्ठले सचेतता अपनाई व्यवसाय संचालन गर्न आग्रह समेत गर्नुभएको छ । चुनचाँदीका विभिन्न गरगहना बनाउँने दक्ष कालिगड उत्पादनको लागि नगरपालिकाले तालिमको समेत व्यवस्था गर्ने उहाँले प्रतिवद्धता जनाउनुभएको छ ।
यस्तै नुवाकोट उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष गिता अमात्यले मेहनत, कला र कौशलसँग जोडिएको सुनचाँदी व्यवसायलार्ई दिगोपना दिनको लागि व्यवसायीको उत्साहप्रति खुसी व्यक्त गर्नुभएको छ । कोटाको रुपमा सुनचाँदी जिल्ला भित्रने गरेकोले माग धान्न कठिन रहेको गुनासो आएकोले त्यसलाई सम्बोधन गर्नलाई नुवाकोट उद्योग वाणिज्य सघले सहकार्य गर्ने प्रतिबद्धता समेत वरिष्ठ उपाध्यक्ष अमात्यले जनाउनु भएको छ ।
विसं २०५३ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ नुवाकोट शाखालाई विसं २०७० सालमा महासंघको सिद्धान्तलाई अनुसरण गर्दै नुवाकोट सुनचादी व्यवसायी संघको नामबाट व्यवसायीको हक र हितको लागि सक्रिय रहेको अध्यक्ष भिमराज बज्राचार्यले बताउनुभएको छ । नुवाकोट सुनचाँदी व्यवसायी संघको निर्णय अनुसार संघमा आवद्ध व्यवसायीहरुले एकरुपता र ऐक्यवद्धताको साथ हरेक शनिवार पसलहरु बन्द गर्दै आइरहेको समेत अध्यक्ष बज्राचार्यले बताउनुभएको छ ।
नुवाकोट सुनचादी व्यवसायी संघमा हालसम्म ४४ साधारण सदस्य र २ एसोसियट सदस्य गरी ४६ सदस्य रहेको छ । संघको सिफारिस पत्र बमोजिम केनद्र मार्फत तोकिएको वैंक मार्फत आर्थिक वर्ष २०७७÷०७८ र २०७८÷ ०७९ मा २३ केजी सुन उपलव्ध भएको संघका सचिव सविन अमात्यले जानकारी दिनुभएको छ । यस्तै साधारण सभामा संघका कोषाध्यक्ष रमेश बि.क.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा चेम्बर अफ कमर्स नुवाकोटका महासचिव केशब मिश्र, नुवाकोट सुनचाँदी व्यवसायी संघका सल्लाहकार शरणउत्सुक सापकोटा, उपाध्यक्ष प्रदिप शाक्य लगायतले मन्तव्य राखेका थिए ।
सूर्यबिनायक सुनचाँदी पसल बेत्रावतीका संचालक इश्वर सुनारले व्यवसायीहरु बिच ज्याला र जर्तिमा लिइने शुल्क एकरुपता नभएको गुनासो गर्दै एकरुपताको लागि संघले पहल गर्नुपर्ने बताउनुभएको छ ।