विदुर- जिल्ला प्रशासन कार्यालय नुवाकोटले गरेको छड्केमा जिल्लाका सरकारी कार्यालय तथा सार्वजनिक निकायका कार्यालयका अधिकांश कर्मचारी अनुपस्थित रहेको पाइएको छ ।
आइतबार कार्यालय समयमा आकस्मिकरुपमा प्रशासनले छ्ड्के गरेको हो । छ्ड्केमा १९ वटा कार्यालयका १ सय ८३ कर्मचारी अनुपस्थित भएको पाइएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । ती कार्यालयका ३२ जना कर्मचारीले बिदा लिएको, १० जना बिना जानकारी अनुपस्थित रहेको, ४० जना काजमा रहेको र १८ जना कार्यालयको पोसाक नलगाएको अवस्थामा पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
सेवाप्रवाहको बेवास्ता गरी अनुपस्थित रहेका कार्यालयहरुमा कोष तथा लेखा नियन्त्रक कार्यालय, डिभिजन सडक, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन, शिक्षा विकास तथा समन्वय विकास इकाई, पूर्वाधार विकास, खानेपानी तथा सरसफाई डिभिजन नं. २ धादिङ साइट कार्यालय नुवाकोट, घरेलु तथा साना उद्योग, डिभिजन वन, नापी, नेपाल टेलिकम, मालपोत, सहरी विकास तथा भवन, स्वास्थ्य, मत्स्य अनुसन्धान केन्द्र त्रिशूली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, विद्युत् वितरण केन्द्र, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, तथ्यांक कार्यालय नुवाकोट–रसुवा कार्यालय रहेका छन् । सबैभन्दा बढी कर्मचारी १ सय ४२ जनामध्ये ५६ जना विद्युत् वितरण केन्द्रमा अनुपस्थित रहेको पाइएको स्थानीय प्रशासनले जनाएको छ ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयले गयल भएको कर्मचारीको तथ्यांक दिन नमानेको समेत स्थानीय प्रशासनले जनाएको छ । जिल्लामा ६१ वटा कार्यालय रहेका छन् ।