नुवाकोट – काङ्ग्रेस नेता तथा नुवाकोटको प्रतिनिधि सभा क्षेत्र नं २ को सांसद अर्जुननरसिंह केसीले प्रजातान्त्रिक पद्दतिको रक्षाका लागि भ्रष्टाचारविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरण राज्यसंयन्त्रको गठबन्धनमा गरिएको मानव तस्करी भएको उनले सुनाए। केसीले भने “एकपटक मन्त्री भएकाहरु भ्रष्ट होइनन् भन्ने मान्न जनता तयार छैनन्, नक्कली भुटानी शरणार्थी प्रकरणमा आशंकामा रहेका कोही छुट्नुहुन्न, पहाड खनेर मुसा निकाल्ने काम फेरि गरिनुहुन्न, डेढ खर्ब जनसङ्ख्या रहेको भारतमा पाँच सय ४३ सांसद, तीन करोड जनसङ्ख्या रहेको नेपालमा दुई सय ७५ सांसद चाहिने हो कि होइन भन्ने अब बहस हुनुपर्छ, समानुपातिक प्रणालीले भ्रष्टाचार र विकृति बढाएकाले यस विषयमा पनि पुनर्विचार गर्नुपर्छ। “