
नुवाकोट – मंगलबार प्रहरीकै पोसाकमा डर त्रास र धम्की दिदै आएका एक नक्कली हवल्दारलाई स्थानीयमा भय र त्रास सिर्जना गर्दै आएको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी नुवाकोटले नियन्रणमा लिएको छ।
प्रहरीको पोशाक तथा अन्य सामाग्री समेत दुरुपयोग गर्ने ती नक्कली प्रहरीलाई कोलनीबाट नियन्त्रणमा लिएको सूचना अधिकारी प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभएको छ ।
विदुर नगरपालिकाको वडा नं ९ कोलोनीबाट पक्राउ परेका ती युवासंग नेपाल प्रहरीको परीचय पत्र, वाकीट्वाकी सेट, नेपाल प्रहरीको आधिकारीक लोगो भएको बागमती प्रदेश प्रहरी कार्यालय बागमती प्रदेश हेटौडाको प्रहरी नायब महानिरिक्षक किरण बज्राचार्यको हस्ताक्षर भएको परिचय पत्र, नेपाल आर्मीको हतियार सहितको ड्रेस लगाएको फोटो, सशस्त्र प्रहरीको ड्रेस लगाएको पासपोर्ट साईजको फोटो भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
आफ्नो नाम बिशाल तामाङ र घर बिदुर नगरपालिका वडा नम्बर १३ रहेको जानकारी दिने ती युवकको साथबाट प्रहरीको हवल्दार पदको परिचय पत्र समेत बरामद गरिएको छ । उनलाई जिल्ला अदालत नुवाकोटबाट लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) मुद्दामा ७ दिन हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।