• १ फाल्गुन २०८१, बिहीबार

पासाङ ल्हामुको तीनपिप्ले-रानीपौवा खण्ड निर्माणका लागि जेठभित्रै टेन्डर आह्वान गर्न सांसद तामाङ्को माग

नुवाकोट । काठमाडौंदेखि नुवाकोट-रसुवा जोड्ने सबैभन्दा पुरानो सडक पासाङ ल्हामुको तीनपिप्ले-रानीपौवा खण्ड निर्माणका लागि जेठभित्रै टेन्डर आह्वान गर्न माग गरिएको छ । 
प्रतिनिधिसभाको बुधबारको बैठकमा नुवाकोट क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद एवं नेकपा माओवादी केन्द्रका नेता हितबहादुर तामाङले अस्तव्यस्त रहेको तीनपिप्ले-रानीपौवा सडक छिटो निर्माणका लागि कुनै पनि हालतमा जेठभित्रै टेन्डर आह्वान गर्न माग गर्नुभएको हो ।

‘नुवाकोट रसुवाको सबैभन्दा पुरानो सडक बालाजु-रानीपौवा-पिपलटार-त्रिशूली सडक वर्षौंदेखि अवरुद्ध छ । त्यहाँका मान्छेहरुले यातायातका साधन गुडाउन पाएका छैनन् । ज्यादै कष्टकर जीवन बिताइरहेका छन् । त्यो सडक निर्माणको निम्ति हामी जिल्लाका जनप्रतिनिधिहरुले सम्बन्धित मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग कुराकानी गर्दै आएका छौं,’ सांसद तामाङले भन्नुभयो, ‘हालसालै भौतिक पूर्वाधार, यातायात मन्त्रालयका उच्चपदस्थ अधिकारीहरुसँग म र ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङबीच भेट हुँदा जेठ महिनाभित्र तीनपिप्लेदेखि रानीपौवा खण्ड टेण्डर आह्वानको जानकारी पाएका छौं । त्यो तोकिएको समयभित्र कुनै पनि हिसाबले टेण्डर आह्वानका निम्ति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।’ 

मन्त्रालय प्राविधिकका अनुसार उक्त खण्डको लागि ८४ करोड बजेट आवश्यक रहेको डीपीआर तयार भएको छ । यो सडक अब आन्तरिक स्रोतबाट निर्माण हुने छ ।  सांसद तामाङले रानीपौवा-पिपलटार खण्डको स्तरोन्नतिको लागि पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।    
पूर्वमन्त्रीसमेत रहनुभएका तामाङले रानीपौवा-पिपलटार खण्डको बाँकी सडक पनि सकभर यही महिनाभित्रै टेण्डर आह्वान गर्नुपर्ने बताएका छन्। यदि आउने आर्थिक वर्षमा मात्रै हुने हो भने आन्तरिक स्रोतबाट निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले भारतीय एक्झिम बैंकको रकमबाट यस अघि निर्माण गर्दा अनावश्यक सर्तका कारण वर्षौंदेखि सडक अलपत्र रहेको उल्लेख गर्नुहुँदै नेपालकै आन्तरिक स्रोतबाट काम गर्ने गरी बजेटको व्यवस्था गर्न उहाँले माग गर्नुभयो । 
‘यदि उक्त सडकमा अब पनि भारतीय एक्झिम बैंककै रकम विनियोजन हुने हो भने नुवाकोटे जनताको लागि दुर्भाग्य हुनेछ । त्यसो नगर्न सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गर्न चाहन्छु,’ सांसद तामाङको भनाइ थियो । 

नुवाकोट प्रवेशको टोखा-गुर्जे-छहरे सडक खण्डको स्तरोन्नति सन्तोषजनक तरिकाले अघि बढेपछि सांसद तामाङलगायत जनप्रतिनिधि बालाजु-ककनी-त्रिशूली सडक निर्माणको पहलमा जुट्नु भएको छ । उहाँहरुकै पहलमा टोखा-छहरे सडकमा अहिले १० करोडभन्दा बढी बजेटबाट काम भइरहेको छ । चालु आर्थिक वर्ष २०७९/८० को ४ करोड र भौतिक पूर्वाधार मन्त्रालयबाट निकासा हुने विशेष बजेट ६ करोडभन्दा बढी रुपैयाँको टेण्डर आह्वानपश्चात् काम भइरहेको छ ।





प्रतिक्रिया दिनुहोस्